Logo

सहज परिस्थिति हुनासाथ परीक्षा लिन्छौ : मैनाली



लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले कोभिडका कारण लोकसेवाका परीक्षणा स्थगित् भएको सुनाउँदै परिस्थिति सहज भएपछि परीक्षा लिईने स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

कर्मचारीहरू भर्ना गर्दै हुनुहुन्छ कि अब रोक्नुभयो जाँचहरू सबै ?

अहिलेको अवस्था यो कोभिडकै कारणले स्थगित भएको अवस्था छ ।

किन स्थगन गर्नुभयो, अब ? सबै कर्मचारीहरूलाई तपाईले परीक्षा नलिने ?

लिने । परिस्थिति सहज भएपछि लिने ।

परिस्थिति त अब २ वर्ष सहज नहोला । अनि यत्तिकै छोडिदिने कर्मचारीको परीक्षा नै नलिकन बस्ने, लोकसेवा आयोग ?

अहिलेको अवस्था भीडभाड गर्न हुने अवस्था छैन । त्यसले गर्दा थोरै नम्बरमा १० देखि २० जनाले जाँच दिने भईदिएको भए केही सुरक्षाका प्रबन्धहरू लिएर जाँच लिन हुन्थ्यो होला । तर अहिले कस्तो छ भने गत वर्षका ठुला ठुला जाँचहरू शाखा अधिकृतको अन्तिम परीक्षा बाँकी छ । त्यहाँ ३÷४ हजार व्यक्तिहरू दोस्रो चरणका लागि छनौट भएका छन् । त्यसैगरी नायब सुब्बाको परीक्षा बाँकी छ । खरीदारको दरखास्त मात्र लिएको अवस्था छ । यी अघिल्लो वर्षकै विज्ञापन हुन् । यो सालको विज्ञापन त अझ हामीले माग आउँछ, आउँदैन, थाहा छैन । सहज परिस्थिति हुनासाथ परीक्षा लिन्छौँ ।

देशभरि परीक्षा रोक्नुभयो । लोकसेवा आयोगले गलत काम गरेको छ, सरकारले चाह्यो भने भर्ना गर्न सक्छ, भनेर धेरैले भनेका छन् नि ?

कुनै पनि परीक्षा अहिले सञ्चालन भएको अवस्था छैन । युनिभर्सिटी, विद्यालयहरूको अवस्था सहज छैन । विद्यालयहरू नखुलिकन हाम्रो परीक्षाहरू सञ्चालन हुँदैन । त्यही नै हो, केन्द्रहरू राख्ने । एउटा कुरा त नीति नै त्यही छ । हामीहरूलाई सरकारी नीतिदेखि लिएर अहिले कोभिडको कारणले २५ जनाभन्दा बढी मानिस जम्मा नगरिदिने भन्ने छ । त्यसैले गर्दा स्थगितसम्म भएको अवस्था हो । सहज परिस्थिति हुनासाथ हामी लिन्छौँ ।

सरकारलाई आवश्यकता परेको छ, कर्मचारी । सरकारले भनिसक्यो, अब हामी भर्ना गर्छौँ भनेर । अस्थायी करारमा, त्यो गर्न सक्छ कि सक्दैन ?

बाहिर करारमा भर्ना गर्ने प्रवृत्ति छ । अस्थायी दरबन्दीहरूका लागि पत्रपत्रिकामा आएको छ । तर त्यो राम्रो परम्परा होइन । यदि पुरानो दरबन्दीलाई नवीकरण मात्र गरिएको हो भने त्यसमा लोकसेवा आयोगको ठुलो विरोध गर्नुपर्ने कुरा छैन । तर नयाँ दरबन्दी सिर्जना गरेर अस्थायी र करारमा राख्न खोजिएको हो भने त्यो बहुत गलत अभ्यास हो ।

नयाँ दरबन्दी खडा गरिँदैछ, कतिपय मन्त्रालयमा ?

त्यो त भएन । यदि हो भने त्यो पुरानो दरबन्दीमा हुन्छ ।

लोकसेवा आयोग सरकारलाई सहयोग गर्न बनेको होइन ?

सरकारलाई सहयोग गर्न भनिएको हो । सरकारलाई योग्य व्यक्ति दिएर सहयोग गर्ने हो ।

तर तपाईहरूले बाधा अड्चन खडा गर्न त सक्नुहुन्न ?

संविधानले गरेको व्यवस्थामा नेपाल सरकारले पनि कहाँ उलंघन गर्न सक्छ त ? त्यसोभए त संविधान नै संशोधन गर्नुपर्छ । लोकसेवाको कार्यक्षेत्रहरू निर्धारित गरिदिनुपर्छ । अहिले भएका ऐनहरू संशोधन हुनुपर्छ । यस्तो देशहरू पनि छन्, जहाँ लुट प्रणालीमा भर्ना गरिन्छ । त्यो गर्न खोजिएको हो भने त पचाउनुपर्ने हुन्छ, नेपालको राजनीतिले, नेपालको राजनीतिक समाजले यसलाई स्वीकार गर्नुपर्छ । अन्यथा योग्यता प्रणाली बेगर मर्सीको आधारमा भर्ना गर्न पाइँदैन ।

त्यसोभए सरकारले गरेको खण्डमा तपाईहरूको आपत्ति रहन्छ ?

आपत्ति रहन्छ ।

तपाईहरू रोक्न सक्नुहुन्छ ? जस्तो अहिले कोभिडको नियन्त्रण गर्न सरकारले कर्मचारी बढाउनुपर्छ ?

कोभिडको लागि तत्काल कोही मान्छे करारमा लिनुपरेको छ भने त त्यसमा हामीले कहाँ विरोध गरेका छौँ र ? तर यहाँ त कुरा त्यो होइन । यहाँ त महामारी नियन्त्रण गर्नको लागि केही अवधिको लागि भर्ना गर्ने कुरा भईरहेको छैन ।

दरबन्दी सिर्जना गर्न मिल्दैन र सरकारले ?

मिल्छ तर अस्थायी मिल्छ । अस्थायी दरबन्दीमा लोकसेवा प्रवेश गर्ने होइन, स्थायी दरबन्दीमा मात्र प्रवेश गर्छ । अस्थायी दरबन्दीको सिर्जना गर्नु नै नियत खराब जस्तो हुन्छ । हुन त सरकारको प्रवक्ता अर्थमन्त्रीज्युले यो पुरानै दरबन्दी नवीकरण हो भन्ने खालको आएको छ । पुरानै दरबन्दीको नवीकरण हो भने त यो जागिर किन खाने भन्ने त्यो हरेक वर्ष नवीकरण गर्दै लान्थ्यो ।

नयाँ नै दरबन्दी खडा गर्ने, आईसक्यो बाहिर ?

त्यो हुँदैन । त्यो त मिल्दै मिल्दैन । त्यसमा हाम्रो कडा आपत्ति रहन्छ । हाम्रा प्रतिवेदनहरूमा हामी त्यो कुरा लेख्छौँ ।

त्यसोभए लोकसेवा आयोगको भूमिका अब कमजोर हुँदैछ ?

कमजोर हुँदैन । कमजोर हुन हामी दिँदैनौँ ।

कोभिडको बेलामा तपाईहरूको भूमिका प्रभावकारी देखिएन । तपाईहरू कमजोर हुनुभयो, लोकसेवा आयोग सुतेर बस्यो नि त ?

हाम्रा जे जति लिखित परीक्षाहरू थिए, त्यसको हामीले साउनसम्म अन्तर्वार्ता लिने नै थियौँ । साउनको २९ सम्म हामी अन्तर्वार्तामा नै थियौँ । असारको १ गतेदेखि साउनको २९ सम्म २ महिना त हामी अन्तर्वार्तामा नै थियौँ नि ।

अन्तर्वार्ताको परीक्षा कहिले आउँछ त ?

अहिले ठुला ठुला परीक्षा, शाखा अधिकृतको दोस्रो चरणको परीक्षा लिन बाँकी छ । जुन ठुलो संख्यामा भएको हुनाले हामीले लिन सकेका छैनौँ । नायब सुब्बा र खरीदार लेभलको लिन सकिएको छैन । त्यस्तैगरी नेपाल प्रहरी र नेपाली सेनामा ठुलै संख्यामा भएपनि केही परीक्षाहरू लिन बाँकी छ । त्यो त गतवर्षकै विज्ञापन हो । त्यसलाई खाली हामी उपयुक्त समयमा लिन्थ्यौँ । जहाँसम्म नयाँ विज्ञापनको कुरा थियो, यो आश्विनको अन्तिम बुधबारको कार्यतालिका प्रकाशित भईसकेको छ ।

त्यसोभए कार्यतालिका अनुसार लोकसेवा आयोग अगाडि बढ्छ ?

बढ्छ, बढ्छ । त्यसमा कुनै शंका नै छैन ।्

त्यसोभए देशभरिका कर्मचारीहरूलाई तपाई के भन्न चाहनुहुन्छ ?

यो विशेष परिस्थितिले गर्दा केही समय स्थगित भएको मात्र हो । यो लोकसेवा आयोगको क्रियाकलाप मात्रै स्थगित भएको होइन । करिब करिब देशका सबै क्रियाकलापहरू स्थगित भएको अवस्था हो । स्थिति अलिकति सहज हुनासाथ हामी सूचना दिन्छौँ र परीक्षा लिन्छौँ ।

परीक्षा कहिलेबाट लिनुहुन्छ, मोटामोटी ?

मोटामोटी हाम्रो इच्छा थियो, दशैँ अगाडि भन्ने नै थियो । दशैँ अगाडि यो शाखा अधिकृतसम्मको परीक्षा लिन पाए हुन्थ्यो भन्ने थियो । परिस्थिति अझै राम्रो भईसकेको स्थिति छैन । कोभिडका केशहरू अझै बढ्दै छन् । विद्यालय खोल्ने अवस्था आएन । विद्यालय, महाविद्यालयहरू नखुलिकन लोकसेवाको परीक्षा लिन कठिन हुन्छ ।



प्रतिक्रिया दिनुहोस्