Logo

बामदेवको यु टर्नसँगै ओली-प्रचण्ड टकराव बढ्यो



काठमाडौ, १६ भाद्र । नेपाल कम्युनिस्ट पार्टीभित्र उपाध्यक्ष बामदेव गौतमले यु टर्न लिएपछि नयाँ राजनीतिक सम्भावना विकास भएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका ओलीले आज नयाँ कदम चाल्ने सार्वजनिक गरेर यु टर्न लिएका छन् ।

ओलीले बामदेवको राष्ट्रियसभामा गई सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी हुने चाहनामा बेवास्ता गर्न लागेको संकेत दिएपछि नयाँ सम्भावना विकास भएको हो । ओलीलाई साथ दिदै आएका गौतमले आज यु टर्न लिएका छन् । उनले अचानक ओलीलाई अप्ठ्यारोमा पारिदिएका छन् ।

नेकपाभित्र कतिपय राजनीतिक नियुक्तिका विषयमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टकराव बढिरहँदा गौतमले नयाँ अस्त्र फालेर तरंग ल्याइदिएका छन् । यसले ओली र प्रचण्डबीचको विवादले नयाँ मोड लिन पुगेको छ ।

बामदेवले आफूलाई राष्ट्रियसभामा लाने पार्टी सचिवालयको विगतको निर्णय कार्यान्वयन हुनुपर्ने जिकिर गरेका छन् । गौतमको अभिव्यक्ति यस्तो बेलामा आएको छ जुन बेला नेकपा सचिवालय बैठक बस्ने तय भएको छ ।

नेकपाभित्र सहमतिको खाका तयार हुँदै गर्दा गौतमले नयाँ अडान कसेका छन् । उनले विगतमा छ बुँदे एकताको प्रस्ताव ल्याएर ओलीको सत्ता संकट टार्न मुख्य भुमिका खेलेका थिए । हिजो संकट टारेका उनका कारण फेरि ओलीमाथि नयाँ संकट बढ्ने सम्भावना छ । तर, गौतम जुनसुकै बेला फरक निर्णय गर्ने नेता हुन् । उनको यही चरित्रले अस्वाभाविक परिस्थिति निर्माण हुन सक्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्