Logo

नियमित उडान बन्दले चार गुणा बढी भाडा तिर्नुपर्दा तयारी पोशाक उद्योग संकटमा



काठमाडौं, भदौ १६ । कोरोना महामारीका कारण लामो समयदेखि अन्तरराष्ट्रिय उडान बन्द हुँदा तयारी पोशाक उद्यमीहरू नेपालबाट तयारी पोशाक (गार्मेन्ट) निर्यातका लागि ४ गुणासम्म बढी भाडा तिर्न बाध्य भएका छन् ।

हाल नेपालबाट विभिन्न मुलुकमा हुने उद्धार उडानका जहाजमार्फत सामान निर्यात गर्दा उद्यमीहरूले ४ गुणासम्म बढी भाडा तिर्नु परेको हो ।

नेपालमा उत्पादित तयारी पोशाक जर्मनी, फ्रान्स, हंगेरी, डेनमार्क, इटाली, नर्वेजस्ता यूरोपेली देशलगायत अमेरिका, अस्ट्रेलिया, क्यानडामा समेत निर्यात हुने गरेको छ ।

नेपाली तयारी पोशाक मुख्य बजार यूरोप हो, जहाँ कुल उत्पादनको करीब ७० प्रतिशत सामान प्रतिशत निर्यात हुने गरेको छ ।

तयारी पोशाकको माग सिजनल हुने र बन्दाबन्दीअघि अर्डर आएका उत्पादन सामग्रीहरू निर्यात गर्न नसक्दा हालसम्म करीब सवा अर्ब बराबर मूल्यका कपडाको सिजन सकिएकाले नोक्सानी बेहोर्नु परेको उद्यमीहरू बताउँछन् ।

सिजन अवधि सकिएका सामान अर्को सिजनसम्म राखिराख्नुपर्दा व्यवसायीलाई लाखौं मूल्यको क्षति पुग्छ ।

हाल माग भइरहेका हाफ पाइन्ट, ट्राउजर, पाइन्ट, लेडिज ड्रेसलगायत केही सामग्री महँगो भाडादर तिरेरै भए पनि सीमित देशहरूमा निर्यात भइरहेको गार्मेन्ट एशोसिएशन अफ नेपालका महासचिव अशोक अग्रवालले बताए ।

चार्टर गरिएको जहाज भएकाले सामान्य अवस्थाको तुलनामा ४ गुणासम्म बढी भाडा तिरेर सामान निर्यात गर्न बाध्य भएको उनले बताए ।

यसअघि सामान्य अवस्थामा यूरोपका सबैजसो देशहरूमा प्रतिकिलो सामानको भाडादर २ डलर रहेकामा हाल ८ डलरसम्म तिर्नु परेको अग्रवाल सुनाउँछन् । ‘माग भएको समय सामान डेलिभरी गर्न नसक्दा सिजन अफ हुने र फेशन आउट भएर नोक्सानी बेहोर्नुभन्दा महँगो भाडा भए पनि तिर्नु परेको हो,’ उनले भने ।

१५ वर्षअघि नेपालमा करीब १२ सय गार्मेन्ट उद्योग सञ्चालनमा थिए । ती उद्योगमा १ लाखभन्दा बढीले रोजगारी पाएका थिए । हाल देशभर ५० ओटा मात्रै गार्मेन्ट उद्योग सञ्चालनमा छन् भने त्यसमा ८ हजारले रोजगारी पाएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्