Logo

प्रदेश २ उच्च जोखिममा, आठमध्ये छ जिल्ला ‘रेड जोन’मा



काठमाडौँ, १६ भाद्र । नेपालमा कोभिड–१९ को प्रकोप सुरु भएयता नै प्रदेश २ उच्च जोखिममा रहँदै आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचकहरूले समेत प्रदेश २ उच्च जोखिममा रहेको देखाउँछ । देशको कुनै एक भाग जोखिममा हुँदा राजधानीसहित अन्य भूभागसमेत जोखिममा पर्ने निश्चित हो ।

जोखिम दर्शाउने सूचकहरू मृत्युदर, सङ्क्रमण दरले प्रदेश २ को अवस्थालाई चित्रण गरेको छ । मन्त्रालयले प्रदेश २ मा कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न साउन दोस्रो साता तीन सदस्यीय टोली नै गठन गरेर स्थलगत अध्ययन प्रतिवेदन बुझाउन कार्यदेश दिएको थियो । जसबमोजिम स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दिपेन्द्र रमण सिंह नेतृत्वको समितिले प्रतिवेदन बुझाएको आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश २ को स्थिति सुधार गर्न आवश्यक उपाय अपनाउन सुरु गरेको छ । तर जोखिम र सूचक भने सुधार भएको देखिन्न । जनस्वास्थ्य विज्ञ भन्छन् – कमजोर स्वास्थ्य पूर्वाधार र नागरिक स्वयंको असंवेदनशीलताले प्रदेश २ को अवस्था अझै कमजोर हुने देखिन्छ ।

सूचकले के भन्छ ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश २ का आठ जिल्लामध्ये छ जिल्ला ‘रेड जोन’मा छन् । देशभर कुल रेड जोनमा रहेका जिल्लाको सङ्ख्या ११ छ । सिरहा र सप्तरी मात्रै रेड जोनबाहिर छन् । मन्त्रालयले पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्लालाई रेड जोनमा राख्दै आएको छ ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म प्रदेश २ मा आइतबारसम्ममा ९६ हजार ६५७ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । जसमध्ये पाँच हजार ११३ जनाको स्वास्थ्य प्रतिवेदन आउन बाँकी छ ।

बाँकीको ९१ हजार ५४४ जनाको परीक्षण प्रतिवेदनमध्ये प्रदेश २ मा दश हजार २२ जना सङ्क्रमित भएका छन् । देशभरि कुल सङ्क्रमितको सङ्ख्या ३८ हजार ५६१ छन् । देशभरिका कुल सङ्क्रमितको करिब २६ प्रतिशत प्रदेश २ मा छन् ।

सङ्क्रमण दरको आधारमा प्रदेश २ मा आरटी पीसीआर गरिएकाको १०।९४ प्रतिशतमा सङ्क्रमणको पुष्टि भएको छ । अर्थात प्रति एक सय व्यक्तिको परीक्षण गर्दा ११ जनामा सङ्क्रमणको पुष्टि भइरहेको छ । देशभरि सङ्क्रमण दर करिब ५।६५ प्रतिशत छ । प्रदेश २ मा दोब्बर देखिन्छ । यसले पनि प्रदेश २ मा जोखिमको अवस्थालाई दर्शाउँछ ।

देशभरि कोभिड–१९ को सङ्क्रमणले हालसम्म २२१ जनाले ज्यान गुमाएका छन्, ८६ जना प्रदेश २ का छन् । कोभिड–१९ को सङ्क्रमणबाट भएको मृत्युको करिब ३८ प्रतिशत प्रदेश २ मा रेकर्ड गरिएको छ । देशभरि कोभिड–१९ ले हुने मृत्युदर शून्य दशमलब ६० प्रतिशतको हाराहारीमा रहँदा प्रदेश २ मा मृत्युदर करिब एक प्रतिशत दर्ता गरिएको छ । यो अझै बढ्ने अनुमान गरिएको छ ।

अझै जिल्लागत् रुपमा हेर्दा सङ्क्रमणको आधारमा प्रदेश २ को महोत्तरीको अवस्था अत्यन्तै चिन्ताजनक देखिन्छ । महोत्तरीमा हालसम्म पाँच हजार ८०८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार २३६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । अर्थात सङ्क्रमण दर करिब २१ प्रतिशत हो । प्रति सय जनाको परीक्षण गर्दा २१ जना सङ्क्रमित फेला परेका छन् । वीरगञ्जमा हालसम्म १८ हजार ५५७ जनाको परीक्षण गर्दा दुई हजार १६७ जना सङ्क्रमित फेला परेका छन् । सङ्क्रमण दर ११।६७ प्रतिशत हो ।

समस्या ‘कन्ट्याक्ट ट्रेसिङ’ र परीक्षण

प्रति एक सय जनामध्ये २१ जना महोत्तरीमा र ११ जना पर्सामा सङ्क्रमित थपिँदासमेत परीक्षणदर अत्यन्तै थोरै देखिन्छ । जसले कोभिड–१९ को सङ्क्रमण समुदाय स्तरमै फैलिएको दाबीलाई बल दिन्छ । प्रदेश २ मा कोभिड–१९ को जोखिम उच्च हुनुको कारण खुला सीमा, परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा लापरवाही तथा कमजोर स्वास्थ्य पूर्वाधार रहेको जनस्वास्थ्यविद् डा। रविन्द्र पाण्डे बताउनुहुन्छ ।

प्रदेश २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । तर कार्यान्वयन अत्यन्तै फितलो छ । जसले सङ्क्रमण समुदायमा अझै बढी फैलिने सम्भावना बढ्दो छ ।
सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले निषेधाज्ञाकै बेला कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी नभएको स्वीकार गर्नुभयो । उहाँले प्रदेश २ मातहातको सबै स्थानीय तहलाई ट्रेसिङको लागि प्रशिक्षण दिइरहेको जानकारी दिनुभएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्