Logo

कोरोनामुक्त भएर फर्कने बेला मृत्यु



कावासोती, १६ भाद्र। नवलपरासी पूर्व नवलपुरमा कोरोना सङ्क्रमणबाट निको भएर घर फर्कने बेलामा एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका-६ निवासी ७५ वर्षीया जेष्ठ नागरिक हुनुहुन्छ । कोरोना जितेर घर फर्कने बेला भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा उहाँको सोमबार मृत्यु भएको हो ।

स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा आइतबार उहाँको रिपोर्ट नेगेटिभ आएको थियो । सोमबार डिस्चार्ज हुने तयारीमा रहनुभएकी उहाँको एक्कासी पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख केशवप्रसाद चापागाईंले जानकारी दिनुभयो ।

पुरानो मेडिकल कलेजलाई उद्धृत गर्दै स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले दिनुभएको जानकारी अनुसार श्वासप्रश्वास, प्रेसर र मुटु सम्बन्धी रोगको उपचार गराइ रहनुभएकी उहाँलाई कोरोनो भाइरस सङ्क्रमण देखिएपछि थप उपचार गराइरहनुभएको थियो । निमोनियाका कारण उहाँको स्वास्थ्य अवस्था सामान्य थिएन ।

मृतक वृद्धालाई निमोनिया भएका कारण आईसीयूमै राखेर उपचार गरिएको थियो । उहाँको रेखदेख बहिनीले गरिरहनुभएको थियो । तर, पछि बहिनीमा पनि कोरोना पोजिटिभ देखिपछि उहाँ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा उपचारका लागि आउनुभयो । त्यसपछि हेरचाहका लागि उहाँको नातिनी पुग्नुभयो तर, नातिनीमा पनि कोरोना पोजिटिभ देखिएपछि केही दिनयता वृद्धाको हेरचाह गर्ने आफन्त नभएको पुरानो मेडिकल कलेजका सिईओ सुप्रभात श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार उहाँको परिवारमा पाँच जना सदस्य रहेको तर, पाँचै जनामा कोरोना पोजिटिभ आएको भन्ने खबर पाएर परिवारका सदस्यसँग बुझ्दा सबैजना आइसोलेसनमा भएकाले आउन नसक्ने बताउनुभएको थियो । घरका सदस्य कोही नभएको भन्दै मृतक वृद्धाको शव बुझ्न कोही पनि नआएको श्रेष्ठले बताउनुभयो ।

परिवारका सदस्य सबैमा कोरोना सङ्क्रमण भएकाले शव व्यवस्थापनका लागि उहाँका अन्य आफन्तसँग कुराकानी भइरहेको विनयी त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कुबराज काफ्लेले जानकारी दिनुभएको छ । मृतकका आफन्तले मृतकको पुनः स्वाब परीक्षण गर्नुपर्ने माग राखेको काफ्लेले बताउनुभयो ।

यस्तै, नवलपुरमा अहिलेसम्म ४६७ जनामा सङ्क्रमण देखिएको छ । सोमबार निधन भएकी वृद्धासहित ३४० जना निको भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागाईंले बताउनुभयो ।
कोरोना सङ्क्रमणबाट नवलपुरमा अहिलेसम्म एकजनाको मृत्यु भएको छ भने १२६ जना सङ्क्रमित उपचाररत रहेका खबर आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्