Logo

हतारमा अस्पताल सिल



काठमाडौं, १६ भाद्र । दृष्टान्त १ चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टिपछि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल सिल गरिएको छ। अस्पताल विकास समितिले शनिबार बेलुकादेखि अर्को सूचना जारी नगरिएसम्म सिल गर्ने निर्णय गरेको हो।

दृष्टान्त २ जाजरकोट जिल्ला अस्पताल भदौ ११ गते अनिश्चितकालका लागि सिल गरियो। त्यहाँ पनि चिकित्सकमा कोरोना पुष्टिपछि आकस्मिकबाहेकका सेवा ठप्प छ।

दृष्टान्त ३ कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजले साउन अन्तिम साता प्रसूति कक्ष ९लेबर रुम० सिल गर्‍यो। त्यहाँ चिकित्सक र नर्समा कोरोना देखिएको थियो। त्यसअघि अछामका दुई बिरामीमा संक्रमण पुष्टि भएलगत्तै जेठ अन्तिम साता पनि सर्जरी वार्ड सिल गरिएको थियो।

बिरामी वा स्वास्थ्यकर्मी संक्रमित भएपछि त्रसित हुँदै व्यवस्थापनले अस्पताल सिल गरेका केही दृष्टान्त हुन् यी। जिल्लाका स्वास्थ्य संस्था मात्र होइन, काठमाडौं उपत्यकाकै सरकारी एवं निजी अस्पताल सिल गर्नु नौलो मानिन छाड्यो। त्रिवि शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज, निदान अस्पताल पनि सिल गरिए। सिल गर्नुको कारण सोध्दा अस्पताल व्यवस्थापकको सहज उत्तर हुन्छ, ‘संक्रमण नफैलियोस् भनेर।’

सरकारले कोरोना संक्रमितको उपचार गर्न मुलुकभरका सबै अस्पताललाई निर्देशन दिएको छ। तर, अस्पताल नै सिल भएपछि उपचार गर्न कहाँ जाने रु विज्ञ भन्छन्, ‘अस्पताल उपचार गर्ने ठाउँ हो, सिल गर्ने होइन।’

कोरोना उपचारमा संलग्न पहिलो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु हालसम्म सिल गरिएको छैन। अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी भन्छन्, ‘हामीले अस्पताल सिल पनि गरेका छैनौं। उपचारमा संलग्न स्वास्थ्यकर्मी पनि संक्रमित भएका छैनन्।’ टेकु अस्पतालले सुरक्षा मापदण्ड अपनाएर सेवा दिइरहेका बेला काठमाडौंकै केही सरकारी एवं निजी अस्पताल बेलाबखत सिल गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल पूर्वाधार र जनशक्तिको उचित व्यवस्थापन गर्न नसक्दा अस्पताल सिल गर्ने बाध्यता हुने बताउँछन्। ‘कोभिड र ननकोभिडलाई उपचार गर्ने छुट्टै भवन वा ब्लकको व्यवस्था गर्न सकेको भए सिल गर्नुपर्ने अवस्था हुँदैनथ्यो’, डा। प्याकुरेल भन्छन्, ‘एउटै भवनमा सबै खालका बिरामी उपचार गर्नुपर्ने भएकाले अन्यत्र नसरोस् भनेर नै सिल गरिएको हो। जनशक्ति पनि थोरै हुन्छ। संक्रमित स्वास्थ्यकर्मी आइसोलेसनमा बस्नुपर्ने भएपछि सिल गर्नैपर्ने अवस्था आउँछ।’ यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्