Logo

उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित



रुपन्देही, भदौ १६ । बुटवलका ६७ वर्षीय एक पुरुषलाई ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आइतबार बिहानै लुम्बिनी प्रादेशिक अस्पताल लगियो। मुटुरोग र उच्च रक्तचापको समेत समस्या रहेका कोरोना संक्रमित उनलाई तत्कालै आइसियूमा राखेर उपचार गर्नुपर्ने थियो।

तर विडम्बना, बुटवलको कोभिड अस्पतालमा आइसियु थिएन। भैरहवाको भीम अस्पतालमा आइसियू तथा भेन्टिलेटर उपकरण त थिए तर सेवा थिएन। चिकित्सकले बाध्य भएर संक्रमितलाई चितवन रेफर गरे। परिवारले बिहानभरि एम्बुलेन्स खोजे, पाएनन्।

केही सीप नलागेपछि प्रादेशिक अस्पतालकै फिबर क्लिनिकमा उनको उपचार थालियो। उपचारकै क्रममा दिउँसो उनको मृत्यु भयो। ‘समयमै भेन्टिलेटरमा राख्न पाएको भए बचाउन सकिन्थ्यो कि’, प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन डा सुदर्शन थापाले भने।

गत साताको सोमबार गैडहवाका एक संक्रमित पुरुषको भीम अस्पतालमा मृत्यु भयो। घरको छतबाट खसेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि भैरहवा मेडिकल कलेजले भीममा रेफर गरेको थियो। उनको अवस्था गम्भीर थियो तर आइसियू नहुँदा आइसोलेसन वार्डमै राखियो। सोही राति उनको मृत्यु भयो।

आइसियु र भेन्टिलेटर सुविधा नहुँदा गम्भीर अवस्थाका संक्रमितको उपचार प्रभावकारी हुन नसकेको भीम अस्पतालका कोरोना फोकल पर्सन डा सुमित प्रजापतिले बताए। त्यसो त भीम पनि प्रदेशका सुविधासम्पन्न भनिएका आइसोलेसन अस्पतालमध्येकै एक हो। तर त्यहाँ भएका भेन्टिलेटर उपकरण त्यत्तिकै थन्किएका छन्।

केही दिनअघि मृत्यु भएका रोहिणीका कोरोना संक्रमित एक पुरुषले पनि बुटवल–भैरहवाका कोरोना विशेष अस्पतालमा उपचार पाएनन्। श्वासप्रश्वासमा समस्या देखिएपछि ५० वर्षीय ती पुरुष सुरुमा बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पताल पुगेका थिए।

मुटु अस्पतालले कोरोनाको लक्षण देखिएको भन्दै प्रादेशिक अस्पताल बुटवल पठायो। प्रादेशिक अस्पतालमा आइसियु खाली नभएको भन्दै फेरि मुटु अस्पतालमै पठाइयो। मुटु अस्पतालले पुनः फिर्ता गरेपछि उनलाई भैरहवाको भीम अस्पताल पठाइयो।

भीममा भेन्टिलेटर सेवा नभएकाले चिकित्सककै सल्लाहमा भारतको गोखरपुर लैजाँदै गर्दा नौतनवामा उनको मृत्यु भयो। यी केही प्रतिनिधि उदाहरण हुन्। प्रदेशमा पछिल्लो समय लक्षणसहितका संक्रमितको संख्या दिनहुँ बढ्दो छ तर अस्पतालको सेवासुविधा विस्तार नभएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्