Logo

प्रणव मुखर्जीः नेपालको राजनीतिक परिवर्तनका सहयोगी देखि महाकाली सन्धीका योजनाकार



काठमाडौं, १६ भाद्र । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार निधन भएको छ । उनको निधनसँगै नेपालले एक असल मित्र पनि गुमाएको छ । मुखर्जीको नेपालसँग विशेष सम्बन्ध थियो । उनले नेपालमा भएका कतिपय राजनीतिक घटनाक्रम देखि नेपाल भारत सम्बन्धका महत्वपूर्ण निर्णयमा भुमिका खेलेका थिए ।

मुखर्जी शुरुमा प्राध्यापन गर्थे । पछि राजनीतिमा प्रवेश गरी इन्दिरा गान्धीको पालामा मन्त्री भए । इन्दिराका विश्वासपात्र थिए मुखर्जी । त्यसैले आफ्नो क्याबिनेटमा सन् १९८२ मा वित्त मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी दिइन् । इन्दिरा गान्धीको सन् १९८४ मा हत्यापछि मुखर्जी राजीव गान्धीबाट टाढिएका थिए । कँग्रेस आई छाडे र फेरि फर्किएका थिए । सन् १९९५ मा विदेशमन्त्री भए । उनको कुशल कुटनीतिक क्षमता प्रदर्शन गरे । उनको कार्यकालमा नेपालसँग सन्धी सम्झौताहरु धेरै भए । जसमध्ये महाकाली सन्धी पनि एक थियो ।

सन् २००७ मा तत्कालिन उपप्रधान तथा परराष्ट्रमन्त्री साहना प्रधान भारत भ्रमणमा जाँदा मुखर्जीले गरेको सम्मानको तस्बिर विश्वभर चर्चाको विषय बनेको थियो । उनले अञ्जुली भुईं नजिक झारेर प्रधानलाई बाटो देखाएका थिए । भारतका विदेश मन्त्रालयका अधिकारीहरुले मुखर्जीले निहुरेर सम्मान गर्दा आफू पनि निहुरिएका थिए । आफूभन्दा उमेर र अनुभवले माथि रहेकाप्रति मुखर्जी निकै सम्मान गर्थे । उनी फलेको वृक्ष नुहिन्छ भन्ने उदाहरण समेत थिए ।

२०५२ सालमा दिल्लीमा महाकाली सन्धी हुनुअघि मुखर्जी नेपाल भ्रमणमा आएका थिए । तत्कालिन परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीसँग दुई दिन वार्ता गरी प्रारम्भिक सहमतिमा हस्ताक्षर गरेर फर्किका थिए । नेपालसँग भएका महत्वपूर्ण समझदारी, सन्धी सम्झौतामा मुखर्जीले महत्वपूर्ण भुमिका खेलेका थिए ।

भारतको वीत्त, अर्थलगायतका मन्त्रालय समेत सम्हालेका उनी सन् २०१२ देखि २०१७ सम्म राष्ट्रपति बनाइएका थिए । उनलाई कुनैबेला कँग्रेस आईको अध्यक्ष र भावी प्रधानमन्त्रीका रुपमा समेत हेरिएको थियो । मुखर्जीको नेपालका राजनीतिक दलका नेतासँग सीधा सम्पर्क थियो ।
मुखर्जीलाई नेपालका नेताहरु सिधा भेट्न पुग्थे । उनी नेपालका नेताहरुप्रति आत्मीय थिए । राष्ट्रपति हुँदा पनि उनीसँग अनौपचारिक भेटघाटमा नेताहरु पुग्थे ।

मुखर्जीलाई नेपालको राजनीतिक परिवर्तनमा भुमिका खेल्ने एकजना नेताका रुपमा पनि हेरिन्छ । नेपाली नेताहरुको उनीसँग सिधा सम्पर्क भएकाले उनीमार्फत् धेरै छलफलहरु हुनेगथ्र्यो । जनआन्दोलन २०६२/६३ मा पनि मुखर्जीसँग केही नेताहरु सिधा सम्पर्कमा थिए । भारतको नेपाल नीतिमा महत्वपूर्ण परिवर्तन हुनुमा उनकै भुमिका थियो ।-Photo Source: Agency

 



प्रतिक्रिया दिनुहोस्

Screenshot