Logo

बाह्र जिल्लामा सङ्क्रमण समुदायस्तरमा, संयमित भए मात्र नियन्त्रण



काठमाडौँ, १७ भाद्र । नेपालको १२ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण समुदाय चरणमा गएको छ । काठमाडौँ उपत्यकासमेत पर्ने बागमती प्रदेशको काठमाडौँ र ललितपुर तथा चितवनसहित प्रदेश २ का धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा प्रदेश १ का मोरङ् र सुनसरी तथा प्रदेश ५ को रुपन्देहीमा कोरोना भाइरसको सङ्क्रमण समुदाय चरणमा गएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ्को क्रममा जनस्वास्थ्यविद् डा. सुरेश तिवारीले समुदाय चरणका सूचकहरूको आधारमा उक्त निचोडमा पुगेको जानकारी दिनुभयो । पछिल्लो एक महिनामा थपिएकामध्ये ७३ प्रतिशत सङ्क्रमित यी १२ जिल्लाको रहेका छन् । असारसम्म विदेशबाट आउने र तिनको सम्पर्कमा रहेकोमा मात्रै सङ्क्रमण पुष्टि भएको थियो । तर पछिल्लो एक महिनामा सङ्क्रमण पुष्टि भएकोमध्ये ९६ प्रतिशत स्थानीय रहेको जनस्वास्थ्यविद् डा. तिवारीले तर्क गर्नुभयो ।

साउन १५ गतेयता नेपालमा २० हजार १८७ जना सङ्क्रमित थपिएका छन् । माघ महिनामा पहिलो सङ्क्रमित पुष्टि भएपछि २० हजार सङ्क्रमित पुग्न करिब सात महिना समय लिएको थियो । तर एक महिनाभित्रै उक्त सङ्ख्या दोब्बर भएको छ । साउन १६ गतेसम्म नेपालमा कुल १९ हजार ७७१ जनामा सङ्क्रमणको पुष्टि भएको थियो । भदौ १६ गतेसम्म ४० हजार ५२९ पुगेको छ । एक महिनामा सङ्क्रमित सङ्ख्या दोब्बर भएको छ ।
कुल सङ्क्रमितको करिब ४७ प्रतिशत यी १२ जिल्लाका छन् । पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकामा सङ्क्रमित थपिने क्रम बढेको छ । काठमाडौँमा एक साताभित्र मात्रै करिब दुई हजार नयाँ सङ्क्रमितको पुष्टि भएको छ । काठमाडौँमा मात्रै चार हजार ५२२ र ललितपुरमा ६८५ जना सङ्क्रमित पुष्टि भएका छन् ।

सूचकले के भन्छ 

सुरुको केही महिनामा नेपालमा कोरोना भाइरसका सङ्क्रमित पुष्टि हुँदा अधिकांश सङ्क्रमण पुरुषमा देखिएको थियो । साउन पहिलो सातासम्म मात्र आठ प्रतिशत महिलामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको थियो । तर पछिल्लो एक महिनामा महिला सङ्क्रमितको प्रतिशत २२ पुगेको छ । अर्थात् सङ्क्रमण हुने विदेशबाट आएका मात्रै नभई घरमै अधिकांश समय बिताउने महिलाको सङ्ख्या बढ्दो छ ।

वृद्धमा समेत सङ्क्रमण दर बढ्दो छ । साउन पहिलो सातासम्म ६० वर्ष उमेर नाघेका सङ्क्रमित वृद्ध एक प्रतिशत मात्रै थिए । तर एक महिनाभित्र सङ्क्रमित वृद्ध चार प्रतिशतको करिब पुगेको छ । पछिल्लो समयमा मृत्यु हुने कोरोना सङ्क्रमित वृद्धको सङ्ख्या पनि बढ्दो छ ।
साउन पहिलो सातासम्म प्रति एक सय व्यक्तिको परीक्षण गर्दा तीनदेखि चार जनामा सङ्क्रमणको पुष्टि हुँदै आएको थियो । तर हाल सङ्क्रमण दर बढेको छ । एक महिनाभित्र सङ्क्रमित पुष्टि हुने दर करिब ८ देखि ९ प्रतिशत पुगेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot