Logo

निषेधाज्ञाको स्वरुपबारे छलफल, साझा धारणा बनाउने प्रयास



काठमाडौँ, १७ भाद्र । काठमाडौँ उपत्यकामा निषेधाज्ञालाई कुन मोडलमा लैजाने भन्ने विषय  टुङगो लाग्ने भएको छ ।  यस विषयमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले साझा धारणा तयार पारेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

आज तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच भर्चुअल छलफल गरेको समेत उहाँले जानकारी दिनुभयो । उद्योग वाणिज्य संघ, स्वास्थ्य क्षेत्र, स्थानीय निकाय लगायत सरोकारवाला संग साझा धारणा बनेको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो । पहिलो, हालकै निषेधाज्ञाको स्वरूपलाई जस्ताको तस्तै अघि बढाउने वा निषेधाज्ञाको स्वरूपलाई परिवर्तन गर्ने भन्ने विषय भोलि गृहमन्त्रालयमा आफुहरुको धारण लैजाने उहाँले बताउनुभयो ।

यसैबीच राससका अनुसार तीन जिल्लाका प्रमखु जिल्ला अधिकारीबीच आज मात्रै भर्चुअल बैठक गरेका भएको, सबै सरोकारवालासँग परामर्श लिने काम भएको र त्यसको आधारमा साझा धारणा बनाएर उपयुक्त निर्णय लिइने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो ।

उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको यही भदौ २ गतेको निर्णयानुसार ४ गते बिहान १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि उपत्यकका तीनै जिल्लामा निषेधको आदेश जारी गरिएको थियो । भदौ १० गतेको निर्णयानुसार यही भदौ १७ गते राति १२ बजेसम्मका लागि उक्त आदेश कायम गरिएको छ । निर्धारित समयको एक दिनअगावै तीनै जिल्लाका प्रजिअले उपयुक्त निर्णय लिन छलफल र परामर्श शुरु गर्नुभएको हो ।

विभिन्न क्षेत्रका प्रतिनिधिको सुझावका आधारमा तीनै जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञाको स्वरुपबारे साझा धारणा बनाउने र उक्त विषयमा बुधबार गृहमन्त्रालयसँग छलफल गरी परामर्शका आधारमा आवश्यक निर्णय लिइने उहाँले बताउनुभयो । प्रशासन कार्यालयका अनुसार कतिपय विज्ञबाट केही खुकुलो बनाउनुपर्छ भन्ने सुझाव आएको र कतिपयबाट अझै कडाइ गर्नुपर्ने सुझाव प्राप्त भएको छ । केही संस्थाले भने मध्यमार्गी निर्णय जरुरी रहेको सुझाव दिएको छ ।

उपत्यका नगरपालिका फोरमले भने अझै कडा गर्नुपर्ने आवश्यकता औँल्याउँदै सुझाव पठाएको छ । फोरममा उपत्यकाका १८ वटै पालिकाका प्रमुख र उपप्रमुख आबद्ध हुनुहुन्छ । फोरमका सचिव मदनसुन्दर श्रेष्ठले भन्नुभयो, “अहिलेसम्मको नतिजा हेर्दा सङ्क्रमण बढ्दै गएको देखिन्छ, त्यसैले हामीले अर्को एक हप्ता थप कडाइ गर्न सुझाव दिएका छौँ ।” उहाँका अनुसार सर्वसाधारणले निषेधाज्ञाको पूर्ण पालना गरिरहेका छैनन् । त्यसैले नियन्त्रण हुन सकेको छैन ।

निषेधाज्ञाको समयमा जानाजान घुमफिरमा निस्कने जमात बढिरहेको छ । तरकारी तथा फलफूल बजारमा सामाजिक दूरी कायम हुन सकिरहेको छैन । प्रहरीले समेत प्रभावकारी भूमिका निर्वाह गर्न सकिरहेको छैन । आफैँ सङ्क्रमित भएकाले न्यून सङ्ख्याका प्रहरीले सुरक्षा दिइरहनुपरेको छ । जबर्जस्ती गाडी चलाउने क्रम रोकिएको छैन । दुई हप्ताको अन्तरालमा उपत्यकाका यसरी आदेश उल्लङ्घन गर्ने झण्डै १० हजार गाडी कारवाहीमा परिसकेको समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्