Logo

महिलाभन्दा पुरुष नै कोरोना सङ्क्रमणको बढी जोखिममा



हेटौँडा, १७ भाद्र। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले सबै वर्ग, क्षेत्र र समुदायलाई प्रभावित पारेको छ । पछिल्लो समय बागमती प्रदेशमा कोरोना सङ्क्रमणको वृद्धिदरसँगै कोरोना सङ्क्रमण पुष्टि भएकाको मृत्यु हुने क्रम बढ्दो छ ।

यो प्रदेशमा कोरोना सङ्क्रमण पुरुषको तुलनामा महिलामा कम देखिएकाले सङ्क्रमणका दृष्टिले पुरुष बढी जोखिममा रहेको देखिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअनुसार कोभिड–१९ सङ्क्रमित हुनेमा लिङ्गअनुसार बढी सङ्ख्या पुरुष छन् । मन्त्रालयले आइतबार साँझसम्ममा प्रदेशका कुल कोरोना सङ्क्रमितमध्ये ३३।२ प्रतिशत महिला र ६६।८ प्रतिशत पुरुषमा कोरोना सङ्क्रमण भएको बताएको छ ।

आइतबार साँझसम्ममा प्रदेशका १३ जिल्लामा गरी सात हजार ४६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डा। पुरुषोत्तमराज सेढाईंका अनुसार पछिल्लो समय पुरुष बढी सङ्ख्यामा विदेशबाट आएका, घरबाहिर महिलाको अनुपातमा पुरुष नै बढी हिँडडुल गर्ने भएकोले र धार्मिक एवं सांस्कृतिक व्यवहारले पुरुषमा सङ्क्रमण बढी देखिएको हो । कतिपय रोग महिलामा कम लाग्नुमा महिलामा रोग प्रतिरोधी क्षमता बढी हुने भन्दै उहाँले भन्नुभयो, पुरुषको अनुपातमा महिलाको मृत्यु दरसमेत कम रहेको छ ।

एक महिनाअघि गत साउन १५ गते बागमती प्रदेशमा कुल सङ्क्रमित एक हजार ६६ जना रहेकोमा २८।७ प्रतिशत महिला र ७१।३ प्रतिशत पुरुषमा कोरोना पुष्टि भएको थियो । प्रवक्ता सेढाईंले कोरोना सङ्क्रमण पछिल्लो समय समुदायस्तरमा पुगेकाले महिलामा कोरोना सङ्क्रमण दर बढ्ने जोखिम बढेको बताउनुभयो ।

स्वयंसेविकाको कोरोना बीमा गरिने

काभ्रे समाचारदाताका अनुसार, जिल्लाको नमोबुद्ध नगरपालिकाले नगरभित्र रहेका अपाङ्गता भएका व्यक्ति र स्वास्थ्य स्वयंसेविकाको कोरोना बीमा गरिदिने भएको छ ।
नमोबुद्ध नगरपालिकाका नगरप्रमुख टीपी शर्मा तिमल्सिनाले कार्यपालिकाको आइतबार बसेको बैठकले नगरपालिकाबाट अपाङ्गता परिचय–पत्र वितरण गरेकामध्ये रातो र नीलो परिचय–पत्र प्राप्त गरेका अपाङ्गता भएका व्यक्ति र स्वास्थ्य स्वयंसेविकाको कोरोना बीमा गर्ने निर्णय गरेकोे बताउनुभयो ।

पछिल्लो समय बढ्दो कोरोना महामारीका कारण अपाङ्गता भएका व्यक्ति बढी प्रभावित हुने देखिएकाले नगरपालिकाबाट उहाँहरूको कोरोना बीमा गर्ने निर्णय गरिएको तिमल्सिनाले बताउनुभयो । नमोबुद्ध नगरपालिकामा रातो अपाङ्गता परिचय–पत्र पाउने ९० र नीलो परिचय–पत्र पाउने १४५ जना रहेका छन् । त्यस्तै गरी, नमोबुद्ध नगरपालिकामा ८१ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।

बैठकले नमोबुद्ध नगरपालिकाले नगर र वडा कार्यालयबाट हुने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले सोमबारबाट यही भदौ २२ गते सोमबारसम्मका लागि सेवा बन्द गर्ने निर्णय गरेको हो । नमोबुद्ध नगरपालिकामा हालसम्म छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्