Logo

स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा (रूटसहित)



काठमाडौँ, १७ भाद्र। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा राजधानीमा सोमबारदेखि निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको छ । नेपाल स्काउट, नेपाल चिकित्सक सङ्घ र हिसानले उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो । राजधानीमा कोरोना जोखिम बढेपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण सार्वजनिक सवारी प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मी समस्यामा परेका थिए ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि यातायात सहजताका लागि बस सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँका अनुसार, अहिले तीन वटा बसले सेवा थालेको र आवश्यकताअनुसार थप गर्न सकिने छ । बसमा स्काउटका स्वयंसेवक परिचालन गरिएका छन् । तालिका अनुसार अस्पताल क्षेत्रका रूटमा बस बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म र साँझ ५ः३० बजेदेखि ७ः३० बजेसम्म सञ्चालन गरिएका छन् ।

बाँसबारीबाट सुरू हुने बस टिचिङ, कान्ति बाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पतालहुँदै पाटन अस्पतालसम्म पुग्नेछन् । यस्तै, दोस्रो बस पाटन अस्पतालदेखि सुरू भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पतालहुँदै पुनः बाँसबारीसम्म पुग्ने जनाइएको छ । त्यस्तै, तेस्रो बसले चक्रपथ परिक्रमा गर्नेछ । बसबारे आवश्यक जानकारी लिनुपरेमा वा केही समस्या परे ११४७ हटलाइन नम्बरमा फोन सम्पर्क गर्न सकिने खबर आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot