Logo

निषेधाज्ञाका बीच वैदेशिक रोजगारमा जान पाइने



काठमाडौं, भदौ १७ । कोरोना नियन्त्रणका लागि राजधानीसहित देशका विभिन्न जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा लगाइरहेका बेला संघीय सरकारले भने नयाँ श्रमस्वीकृति दिन खुला गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा हालै बसेको मन्त्रिपरिषद् बैठकले नयाँ श्रमस्वीकृति खुला गर्ने निर्णय गरेसँग वैदेशिक रोजगार विभाग मातहतको श्रम कार्यालय ताहाचलले आजदेखि नयाँ श्रमस्वीकृति दिने भएको हो । श्रमस्वीकृति खुला गरेसँगै कोरोनासम्बन्धी मापदण्ड पूरा गरेर नेपालीहरू रोजगारका लागि विदेश जान पाउनेछन् ।

सम्बद्ध श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रमस्वीकृति खुला गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । कोरोना महामारीका कारण गएको फागुन अन्तिमदेखि श्रमस्वीकृति दिन बन्द गरिएको थियो ।

नयाँ श्रमस्वीकृति श्रम कार्यालय ताहाचलबाट मात्रै दिइनेछ । कोरोनाको त्रासका बीच श्रमस्वीकृति दिन लागिएको उनको भनाइ छ । दाहालका अनुसार वैदेशिक रोजगारमा जानेहरू काठमाडौंसम्म आउनै कठिन छ ।

‘श्रमस्वीकृति लिन भौतिक रूपमै काठमाडौं स्थित ताहाचल कार्यालयमा उपस्थित हुनुपर्छ, निषेधाज्ञामा श्रमस्वीकृति लिन राजधानीसम्म कसरी आउने?’ दाहालले भने ।

सरकारले पुनः श्रमस्वीकृति दिन भने गएको असार १८ गतेदेखि खुलाएको थियो । पुनः श्रमस्वीकृति प्रदेशमा रहेका श्रम कार्यालयबाट पनि लिन सकिन्छ ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्