Logo

कोभिड १९ को लडाइँमा काम गरेका मान्छेले जोखिम भत्ता र बीमाबाट बिमुख हुनु पर्दैन : मन्त्री ढकाल



काठमाडौं १७ भाद्र । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले तीनै तहका सरकारले मिलेर कोभिड १९ रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
बुधबार प्रदेश सरकारका सामाजिक विकास मन्त्रीहरुसँग भर्चुवल बैठक गर्दै मन्त्री ढकालले कोभिड १९ रोकथामका लागि भएका कामहरु थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि तीनै तहले समन्वयात्मक काम गर्नुपर्ने बताएका हुन् ।
मन्त्री ढकालले जनस्वास्थ्यको मापदण्ड पालनाका निम्ति सचेतनाको काम प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए । कोभिड १९ को अहिलेसम्म कुनै खोपको विकास नभैसकेका कारण सावधानी अपनाउनुको विकल्प नभएकाले त्यसका लागि प्रदेश र स्थानीय सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्नेमन्त्री ढकालको भनाई थियो ।
मन्त्री ढकालले भने, संघीय सरकारले आवश्यक सबै खालका सहायोग गर्न तयार रहेको भन्दै समस्या समाधानका लागि व्यवहारिक रुपमै प्रभावकारी काम हुनुपर्छ । कोभिडको अवस्था रहेसम्म जोखिम भत्ता र बीमाको कुरा जारी रहने बताउँदै प्राविधिककारण केही समस्या भएर कसैले जोखिम भत्ता नपाएको भएपनि कोभिड १९ को लडाइँमा काम गरेका मान्छेले भत्ताबाट बिमुख हुन नपर्ने मन्त्री ढकालले दावी गरे ।
मन्त्री ढकालले सरकारी प्रयोगशालाहरुले नै दैनिक १८५०० जनाको नमुना परीक्षण गर्न सक्ने क्षमताको विकास गरिएको भन्दै कुनै विशेष कारणभन्दा बाहेक २४ घण्टाभित्रमा रिपोर्ट आउने व्यवस्था मिलाइने बताए । मन्त्री ढकालले अहिलेको परिस्थितिमा समय तोकेर नै नमुना परीक्षणको रिपोर्ट दिनुको विकल्प नरहेको पनि भन्दै आइशोलेसन निर्माणका लागि मात्र सरकारले ३८ करोड बजेट प्रदेश सरकार मार्फत स्थानीयतहमा पठाएको स्मरण गर्दै मन्त्री ढकालले केन्द्रमा तीन सय बेडको सरुवा रोग अस्पताल र प्रत्येक प्रदेशमा ५० बेडको अस्पताल सञ्चालनका लागि गृहकार्य भैरहेको जानकारी दिए । मन्त्री ढकालले अबदेखि हरेक १५ दिनमा सामाजिक विकास मन्त्रीहरुसँग बैठक गर्ने प्रतिवद्धता व्यक्त गरे ।
भर्चुवल बैठकमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदी, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावल, प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन मंगोल, गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन र बागमती प्रदेशको सामाजिक विकास मन्त्री युवराज दुलालको सहभागीता रहेको थियो । प्रदेश १ का सामाजिक विकास मन्त्री कोरोना पोजेटिभ भएर आइशोलेसनमा रहेका र प्रदेश २ का सामाजिक विकास मन्त्रीले समय अभावका कारण आजकोे भर्चुवल बैठकमा सहभागी भएनन् ।
सामाजिक विकास मन्त्रीहरुले कोभिड १९ व्यवस्थानका लागि व्यापक काम भए पनि प्रभावकारी समन्वयको अभाव देखिएको भन्दै कोही पनि अलमलमा नपर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्