Logo

खाद्य पसल ११ बजेसम्म, निर्माण सामग्री पसल तथा सवारी २ देखि ९ बजेसम्म खुल्ने



काठमाडौँ, १८ भाद्र । काठमाडौँ उपत्यकामा जारी लकडाउन एक हप्ताका लागि थप गरिएको छ । यो अनुसार भदौ २४ गते राति १२ बजेसम्मे निषेधाज्ञा कायम रहने छ आज उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सो निर्णय गरेको हो । साथै बैठकले अत्यावश्यक वस्तुहरूमा खाद्यवस्तु, दूध, फलफूल तरकारी आदि बिहान ११ बजेसम्म बिक्री गर्न पाउने व्यवस्था गरेको छ ।

त्यस्तै विकास निर्माणसँग सम्बन्धित सामग्री पसल तथा सवारी साधन दिउँसो २।०० बजेदेखि राति ९ बजेसम्म सञ्चालन गर्न पाउने छन् । काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अवधि अर्को एक हप्ता थपिएको छ । गृह मन्त्रालयसँगको परामर्शमा उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुर का प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले केही सेवालाई सहजीकरण गर्दै अर्को एक साताका लागि अत्यावश्यक र तोकिएबाहेकका गतिविधि रोक्ने गरी निषेधको आदेश जारी गरेको हो ।

कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले रोकथाम गर्न जरुरी रहेको निष्कर्षका साथ पुनः निषेधको आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो । यसअघि भदौ ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गरेको थियो । उक्त आदेश भदौ १० गते राति १२ बजे सकिएपछि आज राति १२ बजेसम्मका लागि त्यसलाई पुनः निरन्तरता दिइएको थियो ।

आज उक्त समय सकिन लागेकाले केही सेवा सञ्चालन गर्न पाउने गरी पुनः एक साता निषेधको आदेश थपिएको हो । यही भदौ २४ गते राति १२ बजेसम्म उक्त आदेश कायम रहनेछ ।

केके सञ्चालन गर्न पाइन्छ

राससका अनुसार तीनै जिल्लाका प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार औषधि र पानीजन्य व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्न पाउने पुरानै व्यवस्थालाई कायम गरिएको छ । अन्य खाद्यवस्तु, दूध, तरकारी फलफूल, माछामासुका व्यवसाय भने बिहान ११ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि उक्त व्यवसाय बिहान ९ः१५ सम्म मात्रै सञ्चालन हुँदै आएको थियो ।

तोकिएको मापदण्ड प्रयोग गर्दै विकास निर्माणसम्बन्धी पसल, व्यवसाय तथा ढुवानीका लागि सञ्चालन हुने छोटो दूरीका सवारी साधन दिउँसो २ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । पिसिआर नेगेटिभ भएका व्यक्तिबाट टेक–अवे सेवा तथा सरकारले तोकेको मापदण्ड प्रयोग गरी अनलाइन सेवासमेत सञ्चालन गर्न पाइने भएको छ । होमडिलिभरी सेवा भने मापदण्ड जारी भएपछि मात्रै सञ्चालन गर्न पाइने छ । त्यसका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा यसअघि नै समिति गठन भइसकेको छ ।

कामदार र कर्मचारीलाई आयोजनास्थलकै क्वारेन्टिनमा रहने गरी राष्ट्रिय प्राथमिकतामा परेका आयोजना सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ । यस्तै मापदण्डअनुसार अनलाइन कक्षा सञ्चालन गर्न, क्वारेन्टिन र आइसोलेसनमा बस्ने व्यक्तिका लागि खाना बनाउने, क्याटरिङ र होटल, विमानस्थलदेखि क्वारेन्टिन तथा आइसोलेसनसम्म जाने यातायातका साधन पनि सञ्चालन गर्न पाउने छन् । अत्यावश्यक कामका लागि काठमाडौँ आउनुपर्ने व्यक्तिको भने पिसिआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने जनाइएको छ । स्वाब परीक्षण गराएका व्यक्तिहरु रिपोर्ट नाउञ्जेल क्वारेन्टिनमा बस्नुपर्नेछ । कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिसमेत स्वाब परीक्षण गरेका व्यक्तिको रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा बस्नुपर्ने समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्