Logo

अत्यावश्यकीय उद्योगः उत्पादनदेखि बजारसम्म समस्यै समस्या



वीरगञ्ज, भदौ १८ । बन्दाबन्दीको बेला होओस् वा निषेधाज्ञा, सरकारले अत्यावश्यकीय सेवा र सामग्रीको आपूर्तिलाई प्राथमिकतामा राखेको छ ।

गत चैत ११ गते बन्दाबन्दी शुरू हुँदा १ साता नबित्दै अत्यावश्यकीय उत्पादनलाई सहजीकरण गर्ने निर्णय भएको थियो । तर, पछिल्लोपटक निषेधाज्ञा लगाइएपछि यस्ता उत्पादन र आपूर्ति असहज बनेको छ ।

कोरोना संक्रमणको त्रास र नियन्त्रणका लागि स्थानीय प्रशासनले लगाएको कडा निषेधाज्ञाले अत्यावश्यकीय उद्योगको उत्पादन अनिश्चित बनेको उद्योगीहरूले बताएका छन् । अहिले ५० भन्दा बढी जिल्ला निषेधाज्ञामा रहँदा खाद्यान्न र औषधिजस्ता उत्पादनसमेत अवरुद्ध भएको छ ।

बारा–पर्सा औद्योगिक कोरिडोरका औषधि उद्योग करीब १ हप्तादेखि बन्द छन् भने खाद्यान्न उद्योग पनि न्यून क्षमतामा चलेको उद्योगीहरू बताउँछन् ।

यो औद्योगिक कोरिडोर औषधि र खाद्यान्न उत्पादनको केन्द्र हो । उत्पादनको मुहान नै सुकेपछि अत्यावश्यकीय वस्तु र सेवाको आपूर्ति अवरुद्ध हुनसक्ने वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताको चिन्ता छ ।

बारा–पर्सा उत्पादनको मात्र नभएर साउनको पहिलो हप्तादेखि कोरोना संक्रमणको पनि केन्द्र बनेको छ । त्यसयता स्थानीय प्रशासनले कडाइ गरेका छन् । समुदायमा कोरोना फैलिनुमा उद्योग प्रतिष्ठान नै मुख्य स्रोत भएको बुझाइ पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको छ ।

बन्दाबन्दी खुकुलो भएकै समयमा कोरिडोरका केही उद्योगमा कार्यरत भारतीय कामदारमा संक्रमण देखिएपछि यतिबेला उद्योगमा निगरानी बढाइएको छ । कोरिडोरका एक दर्जभन्दा बढी उद्योगका दर्जनौं कामदारमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

बन्दाबन्दीको समयमा सहजरूपमा सञ्चालन भएका उद्योगले यतिखेर निषेधाज्ञामा सकस सामना गरिरहेका छन् । उद्योगबाट कामदार आवतजावत गर्दा समुदायमा संक्रमण पैmलिएको भन्दै उद्योगमै आवसीय व्यवस्था मिलाएर चलाउन भनिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्