Logo

जापानमा रहेका विजयप्रकाश मिश्र तोकिएकै समयमा अख्तियारमा पुग्लान त?



काठमाडौं, भदौ १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई सात दिनभित्र उपस्थित हुन सार्वजनिक सूचनामार्फत निर्देशन दिएको छ ।

मिश्रले सात दिनभित्र हाजिर भई बयान नदिएमा कानुनी कारबाही गर्ने चेतावनी अख्तियारले दिएको छ । मिश्र भने हाल जापानमा छन् ।

कोरोना संक्रमणको जोखिमका कारण बयान लिने र छानबिन गर्ने काममा सुस्तता आइरहेका बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको विषयमा आयोगले मिश्रलाई छानबिनका लागि बोलाएको हो ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले सेक्युरिटी प्रेस खरिदका बारेमा आवश्यक छानबिन गरी अनुसन्धानलाई तीव्रता दिनका लागि मिश्रलाई बोलाइएको जानकारी दिए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्विस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनका लागि मोलमोलाइ गरेको भन्ने विषयमा बुझ्नका लागि सूचना जारी गरेको अख्तियारले जनाएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदपछि प्राप्त हुने कमिसनको मोलमोलाइ गर्दाको अडियो रेकर्ड सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले ८ फागुन २०७६ मा पदबाट राजीनामा दिएका थिए । यसपछि बाँस्कोटाले काठमाडौं जिल्ला अदालतमा मिश्रका विरुद्ध गाली बेइज्जतीको मुद्दा हालेका छन् । बाँस्कोटाले अदालतमा हालेको मुद्दा हाल विचाराधीन अवस्थामा छ ।

मिश्रले भने बाँस्कोटालाई भ्रष्टाचारमा कारबाहीको माग गर्दै अख्तियारमा निवेदन दिएका थिए । मिश्रको निवेदनपछि सो प्रकरणमा अख्तियारले बाँस्कोटामाथि छानबिन थालेको थियो । अनुसन्धान थालेको करिब ६ महिनापछि अख्तियारले अडियो रेकर्ड गर्ने मिश्रसँग बयान लिनका लागि सात दिने सूचना प्रकाशित गरेका आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्