Logo

पूर्वमन्त्री बाँस्कोटाले पाउलान् क्लिन चिट?



काठमाडौं, भदौ १८ । १५ महिनाअघि तत्कालीन मन्त्री बाँस्कोटाको कार्यकक्षमै रेकर्ड भएको भनिएको अडियो गत फागुनमा सार्वजनिक भएको थियो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटाले खरिद प्रक्रियामा ५४ देखि ५५ करोड बनाउन आग्रह गरेको रेकर्ड छ ।

तत्कालीन अवस्थामा स्विस कम्पनीसँग सम्झौता गर्ने भनिए पनि हाल सो कम्पनी सेक्युरिटी खरिद प्रकरणमा सामेल रहेको छैन । यस आधारमा बाँस्कोटाले अख्तियारबाट क्लिन चिट पाउने सम्भावना देखिएको छ ।

मिश्रका धेरै गतिविधि शंकास्पद र संदिग्ध प्रकृतिको भएकाले बाँस्कोटालाई क्लिन चिट दिने धेरै आधारहरू तय हुन सक्ने देखिएको अख्तियार उच्च स्रोतको भनाइ छ । रेकर्ड गरिएको भनिएको सिडीको आधिकारिताका बारेमा मिश्रले पुष्टि गर्न सक्ने आधार न्यून हुँदै गएकाले पनि बाँस्कोटालाई सहज हुँदै गएको बताइएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया विवादित बनेपछि संसद्को लेखा समितिले पनि अनुसन्धान गरिरहेको थियो । विजय मिश्र आफँै उपस्थित भएर सेक्युरिटी प्रिन्टिङ प्रेस महँगो भएको भन्दै आफ्नो राय दिएका थिए ।

मिश्रले १२ अर्ब रुपैयाँ बढी लागतमा कुनै पनि कम्पनीलाई सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्न दिन नहुने सुझाव दिएका थिए । मिश्रको सोझो दाउ आफूमार्फत सेक्युरिटी प्रिन्टिङ प्रेस नेपालमा भित्र्याउने थियो ।

सुरुमा स्विस कम्पनीलाई प्रेस खरिद दिने भनिए पनि बाँस्कोटाले इन्कार गरेपछि मिश्रले लेखा समितिमा सेक्युरिटी प्रिन्टिङ प्रेस महँगो भएको भन्दै उजुरी दिए । संसदीय समितिले छानबिन गरिरहेको थियो ।

उता २०७५ फागुनमा सञ्चारमन्त्री बाँस्कोटा पेरिस पुगेर फ्रान्सको कम्पनीसँग प्रेस स्थापना गर्ने एमओयूमा हस्ताक्षर गरे पनि लेखासमितिले प्रक्रिया अगाडि नबढाउन निर्देशन दियो । त्यही बीचमा प्रेस स्थापना गर्न जर्मन कम्पनीको पनि प्रस्ताव आएको थियो । तर, मिश्रले डेढ वर्षअघि गरेको अडियो रेकर्ड सार्वजनिक गरेपछि खरिद प्रक्रियामा ब्रेक लागेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्