Logo

बेरोजगार बन्‍दै बहुसंख्यक युवा



काठमाडौं, १८ भाद्र । कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमाएका नेपाली धमाधम फर्किरहेका छन्। अधिकांश त आउन नपाएर उतै रोकिएका छन्। स्वदेशमै पनि रोजगारी गुमाउनेको संख्या बढ्दो छ। स्वदेश होस् या विदेश, रोजगारी गुमाउने जनशक्ति भनेको युवा नै हो।

सहुलियत कर्जामा सहजीकरण गरे वैदेशिक रोजगारीबाट फर्किएका युवा व्यावसायिक कृषिमा लाग्ने श्रमविज्ञ तथा पूर्वसचिव पूर्णचन्द्र भट्टराई बताउँछन्। कृषि, पर्यटन र उद्योगमा पर्याप्त रोजगारी सिर्जना गर्न सकिने उनको ठम्याइ छ। ‘उद्योगलगायत प्राविधिक क्षेत्रमा विदेशी कामदार छन्’, पूर्वसचिव भट्टराई भन्छन्, ‘त्यस्ता ठाउँमा नेपालीलाई सीप सिकाएर विदेशी कामदार विस्थापन गर्न सकिन्छ।’

उनका अनुसार कृषिमा ठूलो रोजगारी सम्भावना भने छैन। तर, नयाँ प्रविधिबाट रोजगारीमा आउन सक्ने सम्भावना छ। पर्यटनमा यो वर्ष तालिम दिएर अर्को वर्ष पूर्वाधारलगायतमा रोजगारी दिलाउन सकिने उनी बताउँछन्। मझौला तथा घरेलु उद्योग क्षेत्रमा पनि पर्याप्त रोजगारी सिर्जना गर्न सकिने उनको विश्वास छ।

‘वित्तीय प्याकेजमा सहयोग गरे रोजगारी पुनःस्थापित हुन्छ’, उनी भन्छन्। उनका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अल्पकालीन रोजगारी भए पनि यसबाट बेरोजगार भने हुँदैनन्। रोजीरोटीका लागि भारत जानुपर्ने बाध्यता टर्न सहयोग पुग्ने उनको ठम्याइ छ।

चालू बजेटमा करिब १० लाखलाई रोजगारी दिने उल्लेख छ। कोरोनाका कारण बेरोजगारको संख्या बढ्दै जाँदा सरकारले त्यसलाई सम्बोधन गर्ने खाका भने ल्याउन सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले हालै अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवालाई सक्षम बनाउँदै स्वदेशमै रोजगारी दिने घोषणा गरे। बेरोजगारी समस्या हल हुने गरी रोजगारीका कार्यक्रम ल्याउने तयारी रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो।

नेपालको करिब ३ करोड जनसंख्यामध्ये १ करोड ७ लाख युवा छन्। स्वदेशमा रोजगारी नपाएका २६ लाखभन्दा बढी युवा विदेशमा पसिना बगाइरहेका छन्। बर्सेनि ५ लाखभन्दा बढी युवा श्रमबजारमा आउँछन्। तीमध्ये ५० हजारले पनि स्वदेशमा रोजगारी पाउन सकेका छैनन्। साढे ४ लाख जनशक्ति विदेश पलायन हुन्छ। १.५ प्रतिशत मात्रै दक्ष जनशक्तिका रूपमा बाहिरिन्छन्। ७४।५ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्ध रहेको पाइएको छ। त्यसमाथि कोरोनाले वैदेशिक रोजगारी खुम्चिने देखिएको खबर आजको अन्नपुर्ण पोस्टले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्