Logo

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु



सिरहा, भदौ १८ । दुई मोटरसाईकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। सिरहा–चोहर्वा सडक खण्डअन्तर्गत सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो भने एक जना गम्भीर घाईते भएका छन्।

सदरमुकाम सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स ४ प ४६१० र चोहर्वाबाट सिरहातर्फ जाँदै गरेको स ४ प ७९२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा सिरहाको धनगढीमाई नगरपालिका १० निवासी ५१ वर्षीय दीपककुमार पंजियार र सिरहा नगरपालिका ९ गुलरीया निवासी ३५ वर्षीय सिल्टु ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाईते पंजियारको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा र ठाकुरको उपचारको लागि लहानतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए।

सोही दुर्घटनामा परी सिरहा नगरपालिका ९ गुलरीया निवासी ३५ बर्षीय जितेन्द्र महरा भन्ने शिवकुमार महरा गम्भीर घाईते भएको र उनको भुमिजा अस्पताल लहानमा उपचार भई रहेको प्रहरी प्रवक्ता घिमिरेले बताए।



प्रतिक्रिया दिनुहोस्