बागलुङ, भदौं, १८ । जिल्लाको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ भने आठ जनाको शव फेला परेको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहिन भएका थिए ।
उनीहरुमध्ये ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीया जीतबहादुर घर्ती, ४० वर्षीया राजु घर्ती, ३० वर्षीया कुमारी बिक, १९ वर्षीया पुतली बिक र ३२ वर्षीया करमती घर्तीमगर रहेका छन् ।
त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया नै दिलमाया घर्तीमगर र उनको छोराका ६ वर्षीय बालक, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।
भेटिएका शवको सनाखत हुन सकेको छैन । प्रहरी भखरै घटनास्थलमा पुगेको र बेपत्ताहरुको खोजी भैरहेकाले सङ्ख्या बढ्न सक्ने जनाइएको छ । सेना, शसस्त्रको टोलीसमेत घटनास्थलतर्फ लागेको छ । रासस