Logo

परराष्ट्रमन्त्री ज्ञवालीका निजी सचिव क्षेत्रीलाई सहसचिव बढुवा गर्न चलखेल सुरू



काठमाडौं, १८ भदौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका निजी सचिव तेजबहादुर क्षेत्रीलाई सहसचिवमा बढुवा गर्नका लागि चलखेल सुरु भएको छ । क्षेत्रीलाई जसरी भएपनि बढुवा गर्न परराष्ट्र मन्त्रालयले ५ जना सहसचिवको दरबन्दी थप गर्ने प्रस्ताव गरेको छ । व्यक्ति विशेषको बढुवाका लागि अनावश्यक दरबन्दी सिर्जना गर्न खोजेको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीहरु बताए ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान, राष्ट्रपति कार्यालयलगायतका निकायमासमेत सहसचिवको दरबन्दी थप्ने प्रस्ताव गरेर परराष्ट्र मन्त्रीका निजी सचिव क्षत्रीलाई सहसचिवमा बढुवा हुने बाटो खुला गर्ने प्रयास भएको रहस्य खुलेको छ । परराष्ट्रले उपसचिव पनि ६ महिना नटिक्ने राष्ट्रपति कार्यालयमा एक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा एक, परराष्ट्र मन्त्रालयमा दुई र नेपाली दुतावास जेनेभामा एकगरी पाँच सहसहचिवको दरबन्दी थप्ने प्रस्ताव गरेको छ । पाँचवटा दरबन्दी स्वीकृत भएको अवस्थामा क्षेत्रीलाई सहसचिव बन्ने बाटो सहज हुने देखिन्छ ।

सहसचिव क्षेत्रीमार्फत दरबन्दी थप्ने प्रस्तावमा सहमति जनाउन प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई मनाउने विभिन्न व्यक्ति परिचालन गरेको परराष्ट्र स्रोतको दाबी छ । परराष्ट्रमा व्यक्ति विशेषलाई बढुवा गर्न राज्यलाई अनावश्यक भार पर्नेगरी दरबन्दी थपिदै आएको छ ।

भूकम्पको मौका छोप्दै ५२ जनाको दरबन्दी थप्न सफल परराष्ट्रले कोरोनाको महामारीमा ४० दरबन्दी थपेर राज्यलाई वार्षिक करिब १२ करोड अनावश्यक भार थप्न लागेको नाम नबताउँने सर्तमा अर्थ मन्त्रालयका एक सहसचिवले बताए ।

राज्यलाई अनावश्यक भार बोकाउनेगरी भूकम्पमा दरबन्दी थप्न सहयोग गरेको पुरस्कारस्वरूप सामान्य प्रशासन मन्त्रालयका ओएन्डएम सर्वेक्षण हेर्ने तत्कालीन् उपसचिव तीर्थ पौडेललाई भारतको बिशखापट्नमा प्रशासन समूहको उपसचिवको दरबन्दी सिर्जनागरी मासिक ३ लाख खानेगरी पठाइएको थियो । अहिले पनि छेन्दुमा प्रशासनको सहसचिवको दरबन्दी राख्न खोजिएको छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot