Logo

डा. आचार्यको प्रश्न : कसको स्वार्थमा पटक–पटक असफल भैसकेको व्यक्तिगतका लागि सरकारले गैरसंवैधानिक कसरत गर्दैछ ?



काठमाडौं, १८ भदौ । संविधानविद् डा. भीमार्जुन आचार्यले संविधानले संघीय संसद अर्थात् प्रतिनिधिसभा वा राष्ट्रिय सभाको एक कार्यकालमा एउटै व्यक्ति दुई पटक संसद सदस्य हुन पाउने व्यवस्था कहीँ कतै नगरेको स्पष्ट पारेका छन् । आज विहान सामाजिक सञ्जाल ट्विटरमार्फत डा. आचार्यले यस्तो टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्,’संघीय संसद् अर्थात् प्रतिनिधि सभा वा राष्ट्रिय सभाको एक कार्यकालमा एउटै ब्यक्ति दुई पटक संसद् सदस्य हुन पाउने व्यवस्था संविधानले कहीँकतै गरेको छैन । यो संसदीय अभ्यास पनि होइन । कसको स्वार्थमा पटक पटक असफल भैसकेको ब्यक्तिका लागि सरकारले गैह्र संवैधानिक कसरत गर्दैछ, बुझ्न सकिएन ।’

पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने तयारी भैरहेको सन्दर्भमा डा. आचार्यले यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिन चाहेका छन् । तर, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपालले भने यसअघि नै पार्टीले गरेको निर्णयअनुसार उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजानुपने अडान लिएका छन् । नेकपाको सचिवालय बैठक आज अपरान्ह ३ बजे बस्दैछ ।



प्रतिक्रिया दिनुहोस्