Logo

पूजारीको हत्या गर्ने दुई जना पक्राउ



रौतहट, १८ भाद्र । पूजारीको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । माधवनारायण नगरपालिका खैस्रैया चौकस्थित हनुमान मन्दिरको पूजारी ६५ वर्षीय श्रीराम साहको भदौ ३ गते हत्या गरी फरार रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा देवाही गोनाही नगरपालिकाका नरेश भन्ने राम नरेश राउत पटेल र बाल कुमार पटेल रहेका छन् । अज्ञात व्यक्तिले पूजारी साहको कञ्चटमा गोली प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरु लगायत अन्य व्यक्तिहरु पनि संलग्न रहेको भन्ने खुल्न आएपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले बौधिमाई नगरपालिका वडकी बंकुल एरियाबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट राम नरेशको बुवाले पूजारीसँग ब्याजमा रकम लिएको र रकम तिर्ने क्रममा विवाद भएको, पूजारीको मन्दिर नजिक ३ वटा रक्सी पसल रहेको र रक्सी सेवन पश्चात मन्दिरको धारामा आई खुट्टा धुने, पानी खाने र घटना हुनुभन्दा ३ दिन अघि राम नरेश पटेल र पूजारी बिच बिवाद भएको थियो । यसैगरी गाउँमा विभिन्न विषयहरुमा छलफल हुँदा पूजारीले फरक मत राख्ने क्रममा राम नरेश पटेल लगायत अन्यसँग धेरै पटक विवाद भएपछि उनले कटुवा पेस्तोल प्रयोग गरी हत्या गरेको र बालकुमार पटेल घटनास्थल नजिक रहि मानिसको आवत जावतलाई निग्रानी गरेको खुल्न आएको छ ।

घटनामा संलग्न अन्य फरार अपराधीको खोजी भइरहेको र पक्राउ अभियुक्तहरुलाई जिल्ला अदालत गौरबाट १० दिनको म्याद थप भई अनुसन्धान सुरु गरेकोे २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्