Logo

तीन सातादेखि रोकियो रेलको टेन्डर मूल्यांकन प्रक्रिया



काठमाडौं, भदौ १९ । सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ) को प्रणालीबाट बिड डकुमेन्टहरू डाउनलोड हुन नसकेपछि विवादास्पद पूर्व–पश्चिम रेलमार्गअन्तर्गतको काँकडभिट्टा–इनरुवा खण्डको टेन्डर मूल्यांकन प्रक्रिया अहिले रोकिन पुगेको छ ।

प्राविधिक समस्याका कारण ई–बिडिङबाट दर्ता भएका बिड डकुमेन्टहरू डाउनलोड हुन नसकेपछि ३ सातादेखि उक्त खण्डको टेन्डरमाथि कुनै मूल्यांकन प्रक्रिया अगाडि बढेको छैन ।

कार्यालयले भदौ १० मा सूचना जारी गर्दै साउन २६ र भदौ ४ गते प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण डकुमेन्ट डाउनलोड हुन नसकेको भन्दै खरीद प्रक्रिया स्थगन गरिएको बताएको छ ।

तर, सोही दिन नै उच्च अदालत पाटनले समेत रेल विभागलाई काँकडभिट्टा–इनरुवा खण्डको टेन्डर प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।

रेल विभागले सोही दिनदेखि नै १०६ किलोमीटर लामो रेलमार्गको ट्र्याक बेड निर्माणका लागि परेका १२० आवेदनको मूल्यांकन प्रक्रिया अघि बढाउने तयारी गरेको थियो । विभागले गत असार १४ र १७ गते दुईपटक गरी ५४ ओटा प्याकेजमा उक्त खण्डको टेन्डर आह्वान गरेको थियो ।

तर, कार्यालयको उक्त प्रणालीबाट बिड डकुमेन्टहरू डाउनलोड हुन नसकेपछि अहिले ती टेन्डरको प्राविधिक तथा आर्थिक मूल्यांकनको काम रोकिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्