Logo

यसकारण पुल्चोक झडप



ललितपुर, भदौ १९। पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथ रथ बिहीबार नै तान्ने विषय सामाजिक सञ्जालमा यस्तरी फैलियो कि त्यसको अनुमान, न ललितपुर महानगरपालिकाले गर्न सक्यो, न त जिल्ला प्रशासनले नै ।

समयमै रथयात्रा गर्न नसक्नुको कमजोरीका कारण पुल्चोक झडप हुन पुग्यो । रथयात्रा मलमासअघि नै गर्नुपर्ने आवाज उठिरहे पनि बिहीबार भने ज्यापु समाज, बौद्ध विहार संघ, श्रेष्ठ समाज, कपाली समाजलगायत १९ संगठन रथयात्रा हुनेमा अनभिज्ञ नै थिए ।

अघिल्लो दिनदेखि नै रथ तान्नुपर्ने पक्षमा रहेका अभियन्ताले बिहीबार बिहान पुल्चोकमा भेला हुन आह्वान गरिरहेको पोस्ट सामाजिक सञ्जालमा ह्वात्तै फैलियो । पाटनका विभिन्न टोल, कीर्तिपुर, काठमाडौं, भक्तपुर र ललितपुरका सुनाकोठी, लुभु, बुङ्मतीलगायत नेवार समुदायको बस्ती रहेको स्थानबाट युवा एकत्रित भए ।

प्रशासनले निषेधाज्ञा जारी गरे पनि त्यसको कमजोरीको फाइदा उठाउँदै रथयात्रामा सहभागी हुन स्थानीय गल्ली र भित्री सडक हुँदै पुल्चोक आइपुगे । मुख्य सडकमा ‘चेकिङ’ भए पनि भित्री गल्लीमा प्रहरीको आँखा छल्दै उनीहरू एकत्रित भए ।

पुल्चोकमा रथ निर्माण गरेको र मत्स्येन्द्रनाथलाई रथारोहण गरेको दुई महिना बढी भइसक्यो । कोरोना संक्रमणका कारण रथयात्रा लामो समयदेखि रोकिएको थियो ।

‘पुरुषोत्तम मास’ पनि नजिकिँदै गर्दा मत्स्येन्द्रनाथका ज्योतिष र पानेजुले रथयात्रा त्यसअघि नै गरिसक्न बारम्बार सुझाव दिइरहदा पनि ‘स्थानीय तह र प्रशासनले चासो नदेखाएको’ भन्दै रथयात्रा नभई अलपत्र परेकामा सरोकारवाला चिन्तित छन् ।

जात्राप्रेमी र स्थानीयलाई ‘करुणामय रथ अलपत्र पर्ने हो कि?’ भन्ने चिन्ताले सताइरहेकै बेला सामाजिक सञ्जालमा तान्ने विषय उठ्दा केही युवा उत्साहित हुँदै पुल्चोक पुगे । रथ तान्न सडकमा आएका पनि कोरोना संक्रमणप्रति भने सचेत देखिन्थे । तैपनि उनीहरू जोखिम मोलेर ठुलो संख्यामा भेला भए । उनीहरूको इच्छा समयमै रथयात्रा गराएर मलमासअघि नै बुङ्मती पु¥याउने देखिएको आजको राजधानी दैनिकममा खवर छ ।



प्रतिक्रिया दिनुहोस्