Logo

अकबरेले बनायो लखपति



ओखलढुंगा, १९ भाद्र । गाउँमा खुसार्नी बेचेर लखपति होइन्छ भन्दा धेरैलाई पत्यार लाग्दैन । तर, सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका ३१ वर्षीय तेजनारायण श्रेष्ठले अकबरे खुसार्नी बेचेरै बर्षमा १५ लाखसम्म आम्दानी गर्छन् । उनलाई अकबरेबाट गाउँमै मज्जाले पैसा कमाउन सकिन्छ भन्ने लगेको चाँही विदेशमा दुस्ख पाएपछि मात्रै हो ।

उनी ९ वर्ष अघि धेरै पैसा कमाएर ठूलो घर बनाउने सपना बोकेर कतार हानिए । धनैधनको सपना बुनेर कतार पुगेका उनले त्यहाँ प्रगति गर्न सकेनन् । कतारबाट गाउँ फर्किए । गाउँमा काम गर्ने मेसो नपाएपछि फेरि मलेशिया पसे ।

मलेशियाले पनि उनको सपना पूरा गर्न सकेन । जसोतसो साढे २ वर्ष त्यहाँ समय बिताएर नेपाल फर्किएका उनी अकबरे खुर्सानीको खेती गरेर मालामाल बनिरहेका छन् । चार वर्षदेखि उनी आफ्नै बारीमा अकबरे उत्पादन गरेर नगरपालिकाकै अगुवा किसान बनेका छन् ।

निर्वाहमुखी खाद्यवाली त्यागेर सुरुमा उनले ११ रोपनी जग्गाबाट अकबरे खेती थालेका थिए । ४ वर्षको अन्तरमा अहिले उनले भाडामा लिएको जग्गासहित २७ रोपनीभन्दा बढी क्षेत्रमा अकबरे खुर्सानी र तरकारी खेती गरिरहेका छन् । अन्य व्यवसायमा अहिले कोरोनाको महामारीले चौपट भए पनि उनलाई असर पारेको छैन । नत अकबरे बेच्न बजारै खोज्नु परेको छ ।

मल्चिङबाट मालामाल

मल्चिङ प्रविधिबाट गरेको खेतीले मनग्गे आम्दानी दिइरहेको छ । उनले वार्षिक १५ लाख रूपैयाँ बढीको अकबरे खुर्सानी बेचिरहेका छन् । हप्तामा शनिबार र बुधबार दुई पटक ओखलढुंगा सदरमुकाममा लाग्ने हाटमा उनले खुर्सानी बिक्री गर्दै आएका छन् ।

मल्चिङ विधि अपनाएर खेती गर्ने श्रेष्ठ जिल्लाकै पहिलो किसान हुन् । यो विधि अपनाउँदा उत्पादन लिन सकिन्छ भनेर सुरूमा कसैले विश्वासै गरेनन् । गाउँलेले मात्र नभएर बुवाआमाले समेत उनलाई गाली गरे । तर, उत्पादन दिन थालेपछि भने सबैले विश्वास गरेको श्रेष्ठले बताए ।

उनले इन्टरनेटको माध्यमबाट मल्चिङ विधिबारे थाहा पाएका हुन् । विदेशबाट फर्किएपछि ४ वर्षअघि के गर्ने भनेर सोचिरहेको थिएँ, श्रेष्ठले भने, युट्युबमा मल्चिङ विधिबाट खेती गर्न सकिनेबारे थाहा पाएँ, त्यसैको आधारमा यो खेती सुरू गरेको हुँ । यो खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ । file photo



प्रतिक्रिया दिनुहोस्