Logo

भारत र चीनबीच फेरि युद्धको खतरा



एजेन्सी, १९ भाद्र । भारत र चीनबीच फेरि युद्धको खतरा बढेको छ । दुवै देशबीच फेरि सानो झडप भएको छ । सैनिकहरुबीचको झडपका क्रममा एकजना भारतीय सैनिकको मृत्यु भएको खबर आएको छ । भारतले सैन्य मुठभेड चाहेमा ठुलो क्षति पु¥याइदिने भन्दै चीनले चेतावनी दिएको भोलिपल्ट यो खबर सार्वजनिक भएको हो । चीनले आफूसँग भुभाग रक्षाका लागि पर्याप्त शक्ति भएको भन्दै सन् १९६२ मा भन्दा ठुलो सैन्य क्षति पुर्याइदिने चेतावनी दिएको हो ।

लगत्तै भारतको सेनाहरुका प्रमुख जनरल विपिन रावतले भारतीय सेना चीनको चुनौतीको सामना गर्न सक्षम रहेको बताएका छन् । उनले बिहिबार चीनको आक्रामक कदमहरुसँग उपयुक्त र उत्तम तरिकाले सामना गरिने समेत बताए । भारतभित्र चीनको पछिल्लो कदम र चेतावनीबारे गम्भीर विश्लेषण हुनथालेको छ । भारतीय पक्षले आवश्यक तयारी गरेको टाइम्स अफ इन्डियाले लेखेको छ । यसरी दुवै देशबाट कडा प्रतिक्रियाहरु आइरहँदा युद्धको कालो बादल फेरि मडारिएको छ ।

मंगलबार चिनियाँ विदेश मन्त्रालयको धारणा सार्वजनिक गर्ने पत्रिका ग्लोबल टाइम्समा सम्पादकीयमार्फत् चीनले भारतलाई चेतावनी दिएको थियो । सम्पादकीयमा भनिएको छ, ‘यदि भारतले सैन्य मुठभेड चाहेमा चिनियाँ जनमुक्ति सेना भारतको सेनालाई सन् १९६२ मा भन्दा बढी क्षति पुर्याउन वाध्य हुनेछ ।’ सन् १९६२ मा चीन र भारतबीच सीमा विवादका क्रममा युद्ध भई दुवैतर्फ ठुलो क्षति पुगेको थियो ।

चीनको नीति भारतलाई उत्तेजित पार्ने नभएको तर भुमि अतिक्रमण गर्ने छुट नदिने भनिएको छ । सम्पादकीयमा भनिएको छ, ‘यदि भारतले चीनसँग प्रतिष्पर्धा गर्न चाहे चीनसँग पर्याप्त उपकरण र क्षमता छ । ‘भारतलाई अमेरिकाले समर्थन गरेको भ्रममा नपर्न समेत भनिएको छ । भारतलाई अमेरिकाले मुखले मात्र साथ दिने भन्दै सम्पादकीयमा लेखिएको छ, ‘चीन-भारत सीमाको विषय दुई पक्ष बसेर समाधान गर्नुपर्छ ।’

चीन भारतभन्दा धेरै गुणा बलियो रहेको भन्दै तुलना हुन नसक्ने समेत दाबी गरेको छ । अमेरिकासँग मिलेर चीनसँगको मामलामा प्रस्तुत हुन खोजेको आरोप समेत लगाइएको छ । सम्पादकीयमा भनिएको छ, अमेरिका जस्तो अर्को शक्तिसँग जोडिएर चीनसँगको मामलामा प्रस्तुत हुने भारतको भ्रमको हामीले सामना गर्नुपर्छ । सम्पादकीयमा भारतलाई अवसरवादी समेत भनिएको छ ।

चीन र भारतबीच लद्दाखको क्षेत्रस्थित ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ मा विवाद फेरि बल्झन थालेपछि चीनले ग्लोबल टाइम्समार्फत् धारणा सार्वजनिक गरेको हो । भारतले अमेरिकाको साथ लिएर चीनसँग प्रस्तुत हुनथालेको विषय उठिरहँदा पछिल्लो धारणा आएको हो । यसअघि जुन महिनामा दुई पक्षबीचको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । चीनतर्फ भने क्षतिको विवरण सार्वजनिक भएन । यसपछि दुवै पक्षले वार्ता गरी विवाद मथ्थर पारेका थिए । दुवै देशबीच विवादले फेरि नयाँ मोड लिएको छ । चीनले भारतमाथि अमेरिकाको साथ लिएर आफूलाई अप्ठ्यारो पार्न खोजेको आरोप लगाएको छ । अमेरिकालाई बीचमा ल्याउन खोजेको समेत चीनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot