वीरगंज, १९ भदौ/ पचास दिन निषेधाज्ञापछि वीरगंज आज आंशिक रुपमा खुलेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले भदौ २५ गतेसम्म निषेधाज्ञा लम्ब्याएपनि केही खुकुलो गरेको छ । जसले गर्दा विगतको तुलनामा आज वीरगंजमा मानिसहरुको आवतजावत, पसल, व्यवसाय सञ्चालन तथा मोटरसाइकल चलेका छन् ।
आज पूर्वतर्फ र दक्षिणतर्फ फर्केका पसलहरु खुलेका थिए भने पश्चिमतर्फ र उत्तरतर्फ फर्केका पसलहरु बन्द भएका थिए । अधिकांश पसलहरु सञ्चालन भएको कारण ग्राहकहरुको भीडभाड पनि देखियो । भौतिक दूरी र स्वास्थ्य मापदण्ड पूरा गरी पसलेहरु व्यापार व्यवसाय गरेका छन् । पसल खुलेपछि मोटरसाइकल पार्किंग गर्नेहरुको भीड बढेपछि ट्राफिक प्रहरीले केही मोटरसाइकलको हेलमेट नियन्त्रणमा लिएर कार्यवाही गरेको थियो । शनिवार वीरगंजका सबै पसलहरु बन्द गर्न प्रशासनले सूचना जारी गरेको छ ।
तस्वीरः आज पूर्वतर्फ र दक्षिणतर्फ फर्केका पसलहरु खुले भने पश्चिमतर्फ र उत्तरतर्फ फर्केका पसलहरु बन्द भए ।