बैतडी, २० भाद्र । बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए । दशरथचन्द नगरपालिकामा २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पाटन नगरपालिकामा तीन महिला र एक पुरुष गरी चार, दोगडाकेदार गाउँपालिकामा चार महिला र दुई पुरुष गरी छ, मेलौली नगरपालिकामा एक महिला, पञ्चेश्वर गाउँपालिकामा एक पुरुष तथा सिगास गाउँपालिकामा एक महिलामा स्क्रब टाइफस पुुष्टि भएको जोशीले जानकारी दिए ।
जिल्ला अस्पताल बैतडी र अन्य स्वास्थ्य संस्थाहरुमा उपचारका लागि पुगेका व्यक्तिहरुको आरडीटी चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको जोशीले जानकारी दिए । गत आर्थिक वर्षमा जिल्लाभरि ४० जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको थियो । यो वर्ष भने एक महिनाकै अवधिमा ४९ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको उनले बताए ।
माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका खबर आजको वीनेपालीले जनाएको छ ।