Logo

संक्रमण बढ्दो, भिडभाड कायमै



बाँके, भदौ २० । कोरोना भाइरस संक्रमितको संख्या जिल्लामा दिनहुँ बढ्दो क्रममा छ । संक्रमण बढिरहँदा बजारमा सर्वसाधारणको भिडभाड पनि बढिरहेको छ ।

सार्वजनिक स्थल, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालयलगायत स्थानमा अत्यधिक भिड बढेको हो । बढ्दो भिडभाडका कारण कोरोना संक्रमण झनै बढ्ने खतराले नेपालगन्जवासी यतिबेला चिन्तित छन् ।

सर्वसाधारणको भिडभाड अस्वाभाविक बढ्न थालेसँगै समुदायस्तरमा कोरोना संक्रमित देखिँदा केही साताअघि स्थानीय प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेको थियो ।

तर, लामो लकडाउन र निषेधाज्ञाका कारण सर्वसाधारणको दैनिक जीवनयापनमा कठिनाइ हुन थालेको भन्दै प्रशासनले आवतजावत खुकुलो पार्दै आएको छ । संक्रमित बढेपछि कोहलपुर नगरपालिका र जानकी गाउँपालिकाले पनि आफ्नो क्षेत्रलाई छुट्टै निषेधित क्षेत्र घोषणा गरेका थिए ।

संक्रमितको बढ्दो संख्यालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले अब साताको दुई दिन जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरिसकेको छ । उक्त निर्णयलाई आगामी शुक्रबारदेखि कार्यान्वयन गरिँदै छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले अब हरेक हप्ताको शुक्रबार र शनिबार निषेधाज्ञा जारी गरिने बताए ।

‘अबदेखि हरेक हप्ताको शुक्रबार र शनिबार निषेधाज्ञा गरिन्छ,’ उनले भने । निषेधाज्ञाका क्रममा आवत–जावतसँगै पसल, व्यवसाय सञ्चालनमा पूर्ण रूपले रोक लगाइने प्रजिअ कुरुङवाङको भनाइ छ । अन्य दिनको तुलनामा शुक्रबार र शनिबार बढी मात्रामा सर्वसाधारणको भिडभाड हुने भएकाले निषेधाज्ञा जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

महामारीबीच पनि विभिन्न स्थानमा सर्वसाधारण उपस्थित हुने क्रम रोकिएको छैन । बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालयलगायत निकायले सर्वसाधारणलाई भिडभाड गराएर सेवा दिने गरेका छन् ।

यस्तै, सार्वजनिक स्थानमा पनि उत्तिकै भिड लाग्ने गरेको छ । स्थानीय त्रिभुवन चोक क्षेत्रमा सामान्य अवस्था झै अचेल दिनहुँजसो श्रमिकको भिड लाग्ने गरेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्