वीरगंज, २० भाद्र । पहिरोपीडितलाई पर्साका ठोरीवासीले आर्थिक सहयोग प्रदान गरेका छन् । शनिवार बिहान सिन्धुपाल्चोकको जुगल गाउँँपालिका लिदीका पहिरो पीडितहरूलाई ठोरीबाट गएको एक टोलीले रू ६ लाख ४३ हजार रकम हस्तान्तरण गरेको टोलीमा सहभागी नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, पर्साका अध्यक्ष ङेमा लामा पाख्रिनले बताए ।
पहिरोपीडित बसिरहेको स्थान जुगल गापा–१ बाँसखर्कमा पुगेर राहत वितरण गरेको अध्यक्ष पाख्रिनले बताए । पूर्ण घर क्षति भएका र आफन्त गुमाएका १० घरधुरीलाई जनही रू ३० हजार, घरमात्र क्षति भएर विस्थापित भएका भएका १८ घरधुरीलाई जनही रू १८ हजार ५ सयका र एकजना घाइतेलाई रू १० हजार राहत रकम प्रदान गरिएको पाख्रिनले बताए ।