Logo

खतिवडाले अर्थमन्त्रीको हैसियतले ईज्जत थप्नुभएको छैन, गुमाउनुभएको छ : डा. लोहनी



राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा अर्थशास्त्रमा काबिल व्यक्ति भएपनि अर्थमन्त्रीको हैसियतले उहाँले व्यतित गरेको साँढे दुई वर्षको रेकर्ड भने मिश्रित रहेको टिप्पणी गरेका छन् । मन्त्रीको पदभार गरेलगत्तै खतिवडाले अघि सारेका कार्यक्रम र श्वेतपत्रअनुसार कुनैपनि काम नभएको उनको भनाई छ । प्रस्तुत छ डा. लोहनीसँग पत्रकार ऋषि धमलाले आज नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रमका लागि गरेको कुराकानीको सम्पादित अंश :

युवराज खतिवडाको साढे २ वर्षको कार्यकाल कति सफल ? कति असफल ? अर्थमन्त्रीको रूपमा उहाँ सफल हुनुभयो ?

युवराज खतिवडाजीलाई मैले लामो समयदेखि चिन्छु । उहाँ काबिल पनि अर्थशास्त्रमा नै हो । उहाँ राष्ट्र बैंकको गर्भनर हुँदाखेरि सफल नै हुनुहुन्थ्यो । तर अर्थमन्त्रीको हैसियतले साढेको २ वर्षमा उहाँको रेकर्ड मिक्स छ । उहाँले आफु अर्थमन्त्री हुँदाखेरि जुन किसिमका कुराहरू भन्नुभएको थियो, उहाँले श्वेतपत्र निकाल्नुभएको थियो । देशमा भएका आर्थिक विकृतिहरू, लगानी राम्रोसँग गर्न नसकेको, त्यसको दुरूपयोग भएको, आर्थिक अनुशासन नभएको लगायतका थुप्रै कुराहरू उहाँले श्वेतपत्र निकालेर अब सुधार हुन्छ भनेर जुन कुराहरू भन्नुभएको थियो नि, त्यो उहाँ अहिले २ वर्ष ४ महिना कति सफल हुनुभयो, यो भनेको लामो समय हो, त्यो लामो समयमा सुधारका कामहरू केही पनि छैनन् । उहाँ आउनुभयो, २ वर्ष ४ महिना बस्नुभयो, जानुभयो । खास कुरा यो बेलामा यस्तो भयो, यस्तो सुधारका कामहरू भए, नेपालको अर्थतन्त्र, उद्योगमा प्रोत्साहन गर्नको लागि यस्ता वातावरण बनाइए भन्ने वास्तवमा केही पनि भएन । आर्थिक अनुशासन कायम गर्नको लागि, सरकारी क्षमताको वृद्धि गर्नको लागि खास कुराहरू केही पनि भएनन् । जुन किसिमका विकृतिहरू पहिले थिए, ती विकृतिहरूले निरन्तरता पाए, अझ बढेर गए । अर्थ मन्त्रालय विकृतिहरूलाई साथ दिने, विकृतिहरूलाई स्वीकृति दिने, विकृतिहरूको बीचमा चुप लागेर बस्ने, राजनीतिक जुन दोहन र शोषण भएको छ, त्यो दोहन र शोषणलाई सहयोगीको रूपमा अर्थमन्त्रालयमा अर्थमन्त्री देखिने यो अत्यन्त दुःखद कुरा हो ।

उहाँले उपलब्धिहरू सुनाइरहँदाखेरि भोकमरी मैले अन्त्य गरेँ भन्नुभएको छ नि ? भोकमरी अन्त्य भयो त हाम्रो देशमा ?

अहिले त अवस्था कठिन छ । भोकमरी अन्त्य भएको होइन कि यसले गर्दा मान्छेहरूले खान नपाएर बसिरहेका छन् । मुख्य कुरा नेपालको उत्पादनको निम्ति जुन किसिमको मान्छेमा प्रेरणा ल्याएर मान्छेको उत्साह दिएर, अब सरकार आयो, यसले सुशासन दिएको छ, अर्थतन्त्रलाई नयाँ दिशा दिएको छ, काम मान्छेलाई उत्साह दिएको छ, साँच्चिकै तल्लो वर्गका गरिब जनता, उनीहरूको लागि प्याकेजहरू ल्याएर उनीहरूलाई माथि उठाउने वातावरण बनाएको छ भन्ने जुन किसिमको आर्थिक नीति, शासन, सरकारी कामकारबाही, सरकारको क्रियाकलाप त्यतातिर केन्द्रित भएर जुन किसिमको अर्थमन्त्रालयको भूमिका हुनुपर्ने हो, त्यो देखिएन । जुन किसिमको आर्थिक विकृतिहरू भईरहेका छन्, त्यसमा अर्थमन्त्रालयले राय त दिन्छ नि । त्यो कुरामा मुकदर्शक भएर जसरी बस्नुभयो, त्यसले गर्दाखेरि उहाँले जुन ईज्जत कमाउनुभएको थियो, त्यो हिसाबमा अर्थमन्त्रीको हैसियतले उहाँले थप्नुभएको छैन, गुमाउनुभएको छ ।

तपाईंको पार्टीको एकता टुंगियो कि टुंगिएन ? तपाईहरू एक हुन सक्नुहुन्छ कि हुँदैन ?

हाम्रो पार्टीको एकता प्रक्रियामा नै छ । हाम्रो दुई वटा पार्टी एक भएर जाने हुनाले निर्वाचन आयोगमा हामी दुईवटै पार्टी गएर अब हामी एक भयौँ, हाम्रा योजनाहरू यी हुन्, हामी एक भयौँ भनेर निर्वाचन आयोगले तोकेको धाराअनुरूप दरखास्तसहित जानुपर्छ ।

कमल थापाले त निर्वाचन आयोगमा जानुपर्दैन भन्नुभएको छ ?

त्यो निर्वाचन आयोगमा नगईकन हामीलाई पार्टी एक भयौँ भनेर कसले सर्टिफिकेट दिने ? तपाईलाई मैले घर दिएँ भनेर चिठी लेखेर पठाउँदा त्यसले हुन्छ ? जानुपर्छ नि मालपोतमा । निर्वाचन आयोगमा निर्वाचनसम्बन्धी कामहरू गर्ने र त्यसलाई कानूनी मान्यता दिने भनेर कहाँ छ, संसारमा ? नेपालको संविधानले निर्वाचन आयोग तोकेको छ । हामी २ ओटा पार्टी एकीकरण हुनको लागि हामी निर्वाचन आयोगमा जानुपर्छ । निर्वाचन आयोगमा गएर दरखास्त हुनुपर्छ । निर्वाचन आयोगले ल तपाईहरू एक हुनुभयो, हामीले दर्ता गरेका छौँ भनेर तपाईहरूको चुनाव चिह्न के हो भनेर पनि निर्वाचन आयोगले भन्नुपर्छ । उसले विधिपूर्वक भनेपछि त्यसले कानूनी मान्यता पाउँछ । घरायसी कागजले त केही हुँदैन । घरायसी कागजले घर दिन सकिन्छ र ?



प्रतिक्रिया दिनुहोस्

Screenshot