Logo

इस्टु मकवानपुरद्वारा प्याब्सन कार्यालयमा ताला



हेटौंडा, २१ भाद्र । संस्थागत विद्यालय शिक्षक युनियन इस्टु मकवानपुर जिल्ला समिति र हेटौंडा उपमहानगर समितिले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन मकवानपुरको कार्यालयमा तालाबन्द गरेको छ ।

प्याब्सन मकवानपुर जिल्ला समिति र हेटौंडा उपमहानगर समितिले केही दिनअघि विज्ञप्ति प्रकाशन गरी निजी विद्यालयका शिक्षक, कर्मचारीलाई भदौ महिनादेखि तलब दिन नसक्ने जनाएसँगै निजी विद्यालयका शिक्षक, कर्मचारी आन्दोलित भएका हुन् ।
इस्टु मकवानपुर अध्यक्ष सचिन लामा, हेटौंडा उपमहानगर समिति अध्यक्ष सीएम रिमाल, केन्द्रीय समितिका पदाधिकारीसहित समूहले शनिबार तालाबन्द गरेका हुन् ।

आन्दोलनका कार्यक्रमअनुसार दोस्रो दिन २०७६ चैतसम्मको तलब निकासा नगर्ने विद्यालयको नाम प्रत्येक दिन प्रकाशन गर्दै सेवासुबिधा निकासाका लागि ३ दिन समय दिने र त्यसो नभए सम्बन्धित विद्यालयमा तालाबन्द गर्ने जनाइएको छ ।

तेस्रो दिन कालोसूचीमा परेका विद्यालयको तालाबन्द सकिएपछि प्याब्सन अध्यक्ष तथा नगर अध्यक्षको विद्यालयमा तालाबन्द गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएको छ ।

इस्टुले प्याब्सन मकवानपुरको कार्यालयमा तालाबन्दीका कार्यक्रमसँगै शिक्षक, कर्मचारीको तलब उपलब्ध नगराउने विद्यालयको नाम सार्वजनिक गर्नेलगायत आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

इष्टु मकवानपुरले प्याब्सनविरुद्ध घोषणा गरेको आन्दोलनमा ऐक्यवद्धता जनाउने क्रम बढेको छ । शुक्रबार भएको छलफलका क्रममा नेपाल शिक्षक महासंघ हेटौंडा नगर समिति, राहत शिक्षक समिति, नेपाल अभिभावक संघ, नेपाल शिक्षक संघ मकवानपुरलगायतले इष्टुको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।

इष्टु मकवानपुरका कानुनी सल्लाहकार ऋषि केबीले कानुनी तहमा सबैले पारिश्रमिक पाउने आधार रहेको बताउनुभयो । राहत शिक्षक समिति मकवानपुर अध्यक्ष हरि पौडेलले आन्दोलनमा ऐक्यवद्धता रहेको बताउनुभएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्