Logo

चार भुक्तानी सेवा प्रदायक संस्था थपिने



काठमाडौं, भदौ २१ । कोरोना महामारीका कारण डिजिटल कारोबार बढिरहेको बेला चारओटा भुक्तानी सेवा प्रदायक संस्था थपिने भएका छन् ।

नेपाल राष्ट्र बैंकले नेपाल टेलिकम अन्तर्गत नेपाल डिजिटल पेमेन्ट कम्पनी, बुद्ध लाइट इन्टरनेशनल प्रालि, आई क्यास प्रालि र छिटोपैसा प्रालिले ई–मनी (वालेट) जस्ता विद्युतीय कारोबार सञ्चालनका लागि सैद्धान्तिक सहमतिपत्र (आशयपत्र) दिइसकेको छ ।

यीसँगै अब बजारमा १८ ओटा भुक्तानी सेवा प्रदायक कम्पनीले कारोबार गर्नेछन् । तर, गत साउनदेखि भने यस्ता भुक्तानी सेवा प्रदायक संस्थालाई अनुमति दिन स्थगित भएको छ ।

चार नयाँ कम्पनीलाई साउनमै आशयपत्र दिइसकिएको राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बताए । ती कम्पनीले कारोबार सञ्चालनको कार्यालय, कर्मचारी, सफ्टवेयर लगायत आवश्यक पूर्वाधारको व्यवस्था गरेर आएपछि सञ्चालनको अन्तिम स्वीकृति दिइने उनले जानकारी दिए ।

‘नीतिगत रूपमा आशयपत्र दिएको ६ महीनाभित्र पूर्व तयारीसहित अन्तिम स्वीकृतिका लागि आवेदन दिनुपर्ने व्यवस्था छ । यसपछि आवश्यक अध्ययन गरेर ३० दिनभित्र सेवा सञ्चालनको अन्तिम स्वीकृति दिनेछौं । त्यसपछि उनीहरूले सेवा सञ्चालन गर्न पाउनेछन्,’ उनले भने, ‘तर कोरोना महामारीका कारण तयारीमा ढिलाइ हुन सक्छ । त्यसैले ढिला आए पनि सञ्चालन स्वीकृति दिने पक्षमा छौं ।’

हाल आईएमई–पे, ई–सेवा फोन पे, सेलकम, सीजी पे, स्प्यारो पे ९खल्ती०, पे नेप, क्यु पे, नेपाल पे टाइम, स्मार्ट कार्ड नेपाल, मोहर डिजिटल, प्रभु टेक्नोलोज, ई–नेट पेमेन्ट, फोकसवान पेमेन्ट सोलुसन्स प्रालि र कुराकानी प्रालि जस्ता भुक्तानी प्रदायक संस्था सञ्चालनमा रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्