Logo

संक्रमित भन्दा डिस्चार्ज हुने धेरै



काठमाडौं, भदौ २१ । शनिबार कोरोना भाइरस संक्रमितको संख्याभन्दा डिस्चार्ज हुने धेरै रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने १ हजार ५ सय ६६ जना डिस्चार्ज भएका छन् ।

गत आइतबारदेखि शनिबारसम्म ७ हजार ९ सय ३७ जना संक्रमित थपिएका छन् । कुल संक्रमितमध्ये ६ हजार ५ सय ७२ जना डिस्चार्ज भएका छन् ।

गत आइतबार २ सय ६७, सोमबार ५ सय ८८, मंगलबार ७ सय ६८, बुधबार १ हजार १ सय ५२, बिहीबार ९ सय १७ र शुक्रबार १ हजार ३ सय ५४ जना संक्रमित डिस्चार्ज भएका छन् । केही दिनयता डिस्चार्ज हुने क्रम बढ्दो छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार देशभर १ सय ९१ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २४ जना भेन्टिलेटरमा र १ सय ६७ जना संक्रमित आईसीयूमा उपचाररत छन् । हालसम्म संक्रमितमध्ये २ सय ८० जनाको मृत्यु भएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्