Logo

लकडाउनयता ७३ सुत्केरीको मृत्यु



काठमाडौं, भदौ २१ । नेपालमा कोरोना संक्रमणसँगै सुरु भएको लकडाउनका कारण पाँच महिनाको अवधिमा ७३ जना सुत्केरीको मृत्यु भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। महाशाखाले हालै गरेको सर्वेक्षणमा यस्तो पाइएको हो। महाशाखाका अनुसार चैतदेखि जेठ महिनाभित्र ४३ जना र असार र साउनभित्र ३० जनाको मृत्यु भएको छ। यीमध्ये ४८ जनाको सुत्केरीपछिको रक्तश्रावले मृत्यु भएको छ।

कोरोना महामारीको कारण देशका विभिन्न भागमा भएको लकडाउनले समयमै यातायात नपाउँदा र अस्पतालमा कोेरोना संक्रमण हुन्छ भन्ने डरले घरमै प्रसूति हुन खोज्ने र कुनै उपाय नलागेपछि मात्र स्वास्थ्य संस्थामा जाने कारणले ढिला हुन गई अकालमै ज्यान गएको परिवार कल्याण महाशाखा मातृशिशु शाखाकी प्रमुख डा पुुण्य गौतमले बताइन्। उनले शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पे्रस ब्रिफिङको क्रममा कोरोनासँगै मातृशिशु स्वास्थ्य र प्रजनन स्वास्थ्य सेवा प्रभावित भएको जानकारी दिइन्।

सर्वेक्षणअनुसार स्वास्थ्य संस्थामा नगई घरमा प्रसूति हुने क्रममा जटिलता आई मृत्यु हुने ७ प्रतिशत छन्। ढिला अस्पताल जाँदा बाटैममा मृत्यु हुने ११ प्रतिशत, ढिला गरी अस्पताल पुगेको एक घण्टाभित्र मृत्यु हुने ७ प्रतिशत छन्। स्वास्थ्य संस्थामा पुगेको एकदेखि ४ घण्टाभित्रमा मृत्यु हुने ११ प्रतिशत, चारदेखि २४ घण्टाभित्रमा ३२ प्रतिशतको मृत्यु भएको महाशाखाको तथ्यांक छ। ७३ वटा मृत्युमध्येमा ६० वटा समयमा अस्पताल नपुगेको कारण मृत्यु भएको पाइएको छ।



प्रतिक्रिया दिनुहोस्