Logo

मलमा कालोबजारी



भोजपुर, भदौ २१ । कोरोनाको त्रास एकातिर छ भने मल अभाव झेलिरहेका किसान बिचौलियाबाट थप हैरान भएका छन्। जिल्लाको पूर्वी अरुण गाउँपालिकामा रासायनिक मलमा कालोबजारी गरेको पाइएको छ। स्थानीय व्यापारीले तोकिएको मूल्यभन्दा चारगुणा बढी मूल्यमा रासायनिक युरिया मल किसानलाई बिक्री गरेको पाइएको हो।

अरुण गाउँपालिका ५, याकुस्थित स्थानीय खुद्रा व्यापारी अर्जुन कटुवालले सात सय ८५ मूल्य पर्ने रासायनिक मल प्रतिबोरा दुई हजार पाँच सयमा किसानलाई बेचेको पाइएको हो। मनपरी मूल्य तोकेर गाउँमा मलको कालोबजारी गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले ढुवानी गर्ने चालक र गाडीलाई नियन्त्रणमा लिएको छ। व्यापारी कटुवाल भने सम्पर्कविहीन रहेको प्रहरी बताएको छ।

गत बुधबार राति व्यापारी कटुवालले अनधिकृत रूपमा ‘उत्तम ब्रान्ड’ को ४० बोरा उक्त युरिया मल अरुण गाउँपालिका ५, याकुको ओदानेमा मिनीट्रकबाट झार्ने क्रममा गाउँका केही युवाले देखेपछि व्यापारी कटुवालले गाडी चरम्बीको छाम्ताङ पठाएका थिए।

गाउँमा अनधिकृत मल बिक्री हुँदै छ भन्ने सूचना आएपछि प्रहरी चौकी प्याउलीबाट गएको प्रहरी टोलीले मलको बोरा रहेको को १ ख ३४६६ नम्बरको उक्त मिनीट्रक नियन्त्रणमा लिएको प्रहरी निरीक्षक प्रदीप लामाले बताएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्