Logo

गाउँमै पोलिटेक्निक इन्स्टिच्युट सञ्चालन हुने



गोरखा, २१ भदौ: बारपाक सुलिकोट गाउँपालिकाको सौरपानीमा बाली विज्ञानअन्र्तगतको आंगिक क्याम्पस सञ्चालनमा ल्याइने भएको छ । गाउँपालिकाको वडा नं ४ स्थित सौरपानीमा यसै शैक्षिक सत्रदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्र्तगतको बारपाक पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनमा ल्याउन लागिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।
तत्कालका लागि सौरपानीमा रहेको हिमालय माध्यमिक विद्यालयमा प्रयोगशाला कक्षा सञ्चालन गर्ने र मूलदेवी आधारभूत विद्यालयमा अन्य कक्षासहितका प्रशासनिक कार्य सञ्चालन गर्ने तयारी भएको उनले बताए । पोलिटेक्निक सञ्चालनका लागि गाउँपालिकाले करीब ८० रोपनी जग्गा खरिद गरिसकेको छ ।

इन्स्टिच्युट सञ्चालक समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्र्टराईको अध्यक्षतामा हालै बसेको सञ्चालक समितिको बैठकले इन्स्टिच्युटको शुल्क, विद्यार्थीको सङ्ख्या निर्धारण, कुन क्षेत्रबाट कति भर्ना लिने भन्ने निर्णय गरिएको बताइएको छ । गाउँपालिका अध्यक्ष भट्टका अनुसार तीन वर्षका लागि रु ९९ हजार शुल्क तोकिएको छ । यो शुल्क अन्य आङ्गिक क्याम्पस तथा सोही विषयको अध्ययनअध्यापन गराउने अन्य इन्स्टिच्युटको तुलनामा न्यून रहेको अध्यक्ष भट्टले बताए । गाउँपालिकाले पालिकाभित्रकै विद्यार्थीका लागि भने तोकिएको शुल्कमा पनि ५० प्रतिशत छात्रवृत्ति दिने निर्णय गरेको उनले जानकारी दिए ।

इन्स्टिच्युटमा कक्षा सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको इन्स्टिच्युटका प्रमुख रामचन्द्र देवकोटाले जानकारी दिए । एसइई परीक्षाको नतिजा आएलगत्तै भर्ना आह्वान गरी प्रवेश परीक्षा लिई पढाइ सञ्चालन गर्ने तयारी थियो तर यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण केही ढिलाइ भएको उनले बताए । इन्स्टिच्युट सञ्चालनका लागि सिटिइभिटीले २०७६ साल असोजमै स्वीकृति प्रदान गरेको थियो । इन्स्टिच्युटमा डिप्लोमा तहको पढाइ हुने प्रमुख देवकोटाले बताए ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot