Logo

कोरोनाको सिरियस केश आयो भनेपनि हामी उपचार गर्नसक्ने परिस्थितिमा छौँ : मुख्यमन्त्री भट्ट



सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो प्रदेशमा कोरोनाको अवस्था जटिल नरहेको स्पष्ट पारेका छन् । उनले भनेका छन्,‘अहिले पछिल्लो चरणमा त्यति तीव्र त छैन र घटेको पनि छैन । तर धेरै भयावह स्थिति भएको छैन ।’ उनले सुदूरपश्चिम प्रदेशमा अहिले नै भोकमरीको अवस्था नरहेको जिकिर गरे । उनले भने,‘अहिले नै भोकमरीको अवस्थाको स्थिति छैन, तर केही जटिलता र समस्याहरू पैदा भएका छन् ।’ नेपाली रेडियो नेटवर्कबाट आज विहान प्रसारण भएको नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् । प्रस्तुत छ मुख्यमन्त्री भट्टसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंशः

के छ हालखबर त्यहाँको ? कोरोनाको संक्रमणको संख्या बढेको छ कि घटेको छ ? देशभरिको अवस्थालाई समीक्षा गर्दाखेरि सुदूरपश्चिमको अवस्था के छ ?

कोरोनाको अवस्था अहिले पछिल्लो चरणमा त्यति तीव्र त छैन र घटेको पनि छैन । तर धेरै भयावह स्थिति भएको छैन ।

भयावह स्थिति छैन ? संक्रमणको संख्या घटेको छ, सुदूरपश्चिम प्रदेशमा ?

घटेको पनि धेरै त छैन तर दिनमा ३० देखि ४० जना जति देखिन्छन् । कहिले ५० देखि ६० जना देखिन्छन् । त्यस्तै–त्यस्तै अवस्थामा छ ।

उपचारको लागि कुनै समस्या छैन ? हस्पिटलहरू छन् ? बेड, आई.सी.यु, भेन्टिलेटर सबै व्यवस्था छ ?

उपचारको लागि हामीले पहिलेदेखि नै यो कोरोना महामारीको सुरुवातदेखि नै हामी सुदूरपश्चिम प्रदेश सरकारले उपचारको लागि यसलाई कम तथा रोकथाम गर्नको लागि विभिन्न प्रकारका कार्यक्रमहरू सञ्चालन गरेकै थियौँ । त्यही आधारमा हामीले उपचार पनि गरिनै राखेका छौँ । त्यस्तो सिरियस केशहरू जो अहिले हस्पिटलमा, भेन्टिलेटरमा नै राख्नुपर्ने केशहरू अहिले छैनन् । त्यस्तो अवस्था आयो भने पनि उपचार गर्नसक्ने परिस्थितिमा हामी छौँ ।

त्यसो भए कोरोनाको संक्रमणको संख्या घट्दाखेरि उपचारको समस्या भएन, त्यहाँ ?

त्यस्तो सिरियस केश छैन ।

अहिलेसम्म सिरियस केश छैन ?

छैन ।

अनि तपाईहरूलाई स्वास्थ्य सामग्रीको अभाव छ कि छैन ?

स्वास्थ्य सामग्रीको अभाव त छ, खासगरेर पि.सि.आर मेशिनहरू प्रदेश सरकारले आँफैले जडान गरिसकेको छ । खासगरेर अहिले हाम्रो यहाँ ४ ओटा पि.सि.आर मेशिनहरू सञ्चालनमा छन् । यसको लागि चाहिने किटहरू, स्वाब कलेक्सनको लागि चाहिने सामग्रीहरूको केही अभावहरू छन् । यसको लागि हामीले संघमा कुरा गरेका छौँ । आवश्यकतानुसार हामीले आँफंै पनि प्रदेश सरकारले त्यसको व्यवस्थापन गर्नको लागि हामी अगाडि बढिरहेका छौँ ।

त्यसो भए त्यहाँ भोकमरीको अवस्था छ कि छैन ? जनताले खान पाएका छन् ?

अहिले नै भोकमरीको अवस्था भएको स्थिति होइन । तर केही जटिलता र समस्याहरू पैदा भएका छन् । पछिल्लो समयमा कोरोनाको महामारीसँगै मान्छेले आफुले रोजगारी गर्ने कुराहरू रोकिएको छ । कैयौँ मान्छेहरू अन्त रोजगारी गर्न, खासगरी भारतमा रोजगारी गर्नेहरूलाई प्रभाव परेको छ । यही कैलाली जिल्लामा पनि लामो समयसम्म लकडाउन रह्यो । कामहरू बन्द भएको कारणले केही समस्याहरू भएका छन् । तर अहिले नै भोकमरी नै भईसक्यो भन्ने कुराहरू छैन ।

तर धेरै मजदुरहरूको पीडा छ, भारतबाट आए, फेरि पनि त भारत जाँदैछन् नि त । उनीहरूले भनेका छन्, हामीले नेपालमा रोजगारी पाएनौँ । पेट भर्न पाएनौँ ।

यो थाहा हुने कुरा नै भयो । यो हामी सबैले बुझेका छौँ । नेपालको परिस्थिति, नेपालमा रोजगारीको स्थिति, किन भएको छैन, किन भएन भन्ने विगतको स्थितिबाट पनि हामी सबैलाई थाहा छ । पछिल्लो चरणको स्थिति पनि हामी सबैलाई थाहा छ । देशव्यापी रूपमा नै यो महामारीको कारणले जुन प्रकारको परिस्थिति भएको छ, त्योबाट नेपालपनि मुक्त हुने कुरा रहेन । त्यसमा कैयौँ मानिसहरूले रोजगारी छोडेर घरतिर आउनुपर्ने परिस्थिति बन्यो । हामीले यसलाई कम गर्नको लागि हाम्रो सुदूरपश्चिमेली दाजुभाइहरूलाई सुदूरपश्चिममा नै रोजगारीको स्थिति सिर्जना गर्ने र त्यसपछि उनीहरूलाई कृषिसँग जोड्ने, स्वरोजगारसँग जोड्ने, उनीहरूलाई अन्य व्यवसायमा जोड्नका लागि हामी प्रदेश सरकारले पनि कार्यक्रमहरू ल्याएका छौँ । यसलाई हामीले कार्यान्वयनमा लगिराखेका छौँ ।

प्रदेश सरकारले जनताको मन जित्ने काम पनि गर्नुपर्छ । जनताको समस्या समाधान गर्न तपाईहरू २४सै घण्टा सक्रिय हुनुपर्छ । यही स्पिडमा काम गर्नुभएको छ ?

यसमा तपाईले भनेको कुरामा म एकदमै सहमत छु । म २४सै घण्टा काममा लागेको् पनि छु । तर मात्र एउटा भनाई के हो भने २ वर्षकै कार्यकालमा धेरै चमत्कारहरू हुन सक्दैनन् । वर्षौदेखि यहाँ सरकारहरू चलेका छन् । यसमा कैयौँ परिणामहरू आउन सकिरहेका छैनन् भने साढे २ वर्षमै प्रदेश सरकारले चमत्कार गर्नुपथ्र्यो, हामी चाहन्छौँ, यो माग हो तर त्यो अनुसार हाम्रो अहिलेसम्मको सिस्टम, हाम्रो अहिलेसम्मको व्यवस्थामा अहिले नभ्याउने भएको कारणले यो परिणाम आएको हो तर परिणाम आउँछ । मेरो प्रतिबद्धता पनि के हो भने जे हामीसँग त्यसलाई प्रयोगमा ल्याउनुपर्छ । यसमा जनतालाई जोड्नुपर्छ । सबै सेक्टरमा जनतालाई साथ दिएर नै जानुपर्छ । जनताका समस्याहरूको समाधान गर्नका लागि हामी २४सै घण्टा जनतासँगै रहनुपर्छ भन्ने कुरामा एकदमै दुई मत छैन । यसको लागि प्रदेश सरकार लागिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्