Logo

निषेधाज्ञाको विकल्पबारे सरोकारवालासँग अनुगमन उपसमितिको छलफल



काठमाडौँ, २२ भाद्र । कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको सन्दर्भमा अनुगमन गर्न गठित उपसमितिले निषेधाज्ञाको विकल्प बारेमा सरोकारवाला पक्षसँग आइतबार छलफल गरेको छ ।

सिंहदरबारस्थित उपसमितिको सभाकक्षमा भएको छलफलमा सांसदहरूले निषेधाज्ञाको समय बढाउनुभन्दा कोरोना परीक्षण तीव्रता तथा सङ्क्रमितलाई आइसोलेसनमा राख्ने उचित प्रबन्धबारेमा सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभयो । उपसमितिका संयोजक जीवनराम श्रेष्ठकानुसार उपत्यका प्रवेशमा नियन्त्रण गर्न जिल्लाका प्रस्थान बिन्दुहरूमा नै कडाइ गर्ने व्यवस्था मिलाउन सांसदहरूले माग गर्नुभयो ।

लामो समयको निषेधाज्ञाले सामाजिक जनजीवनलाई असर पर्ने हुँदा सो अवधिमा कोभिड नियन्त्रण र रोकथामका लागि कन्ट्याक्ट् ट्रेसिङलाई व्यापक गर्नुपर्ने, पीसीआर परीक्षण, सङ्क्रमितलाई आइसोलेसनमा राख्ने उचित व्यवस्था, अस्पतालहरूमा आइसियु र भेन्टिलेटरको व्यवस्थामा सरकारले ध्यान दिनुपर्ने सुझाव आएको संयोजक श्रेष्ठले बताउनुभयो ।

छलफलमा नगरपालिका फोरम तथा सङ्घका पदाधिकारीहरूले सरकारले सङ्क्रमित व्यक्तिको क्वारेन्टाइनमा खानाका लागि तोकेका १७५ रुपियाँ दर निकै कम र सान्दर्भिक नभएकाले त्यसको उचित मूल्याङ्कन हुनु पर्नेमा सरोकावालाहरूले जोड दिनुभएको संयोजक श्रेष्ठले बताउनुभयो । क्वारेन्टाइन र आइसोलेसन निर्माण गर्न आवश्यक सामान खरिद गर्दा सार्वजनिक खरिद ऐन अनुसार गर्नुपर्ने विषयसमेत सांसदहरूले बैठकमा उठाउनुभएको उहाँले जानकारी गराउनुभएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्