Logo

धमाधम कामदार हटाउँदै बारा पर्सा कोरिडोरका उद्योग



वीरगञ्ज, भदौ २२ । बन्दाबन्दी र निषेधाज्ञाले उत्पादन खुम्चिएपछि बारा पर्सा कोरिडोरका उद्योगले धमाधम कामदार कटौती गर्न थालेका छन् ।

४ महीना लामो बन्दाबन्दी र करीब डेढ महीनादेखि जारी निषेधाज्ञाले उत्पादन प्रभावित भएको भन्दै उद्यमीले कामदार कर्मचारी हटाउन थालेका हुन् ।

श्रम तथा रोजगार कार्यालय पर्साका अनुसार कोरिडोरका आधा दर्जन उद्योगले मजदूर कटौती र जगेडामा राखिएको जानकारी पठाएका छन् । आइतवारमात्रै वीरगञ्जको एउटा उद्योगले आफ्ना सम्पूर्ण कामदार हटाएको छ । अधिकांश उद्योगले कामदार कटौती गरेको श्रम तथा रोजगार कार्यालय प्रमुख सुन्दर श्रेष्ठले बताए ।

सीमित उद्योगले कामदार हटाएको जानकारी श्रम कार्यालयमा दिए पनि कोरिडोरका अधिकांश उद्योगले अनौपचारिक रूपमा कामदार कटौती गरेको पाइएको छ । त्यस्ता उद्योगले आपसी समझदारीमा कामबाट हटाइएको बताएका छन् । समझदारीमा कटौती गरेका उद्योगले श्रम कार्यालयमा जानकारी दिएका छैनन् ।

कामदार कटौती वा जगेडामा राखिएको जानकारी श्रम कार्यालयलाई दिनुपर्ने व्यवस्था श्रम ऐनले गरेको छ । जगेडामा राखिएका कामदारलाई आधा तलब दिनुपर्छ ।

कटौती गरेको खण्डमा भने काम गरेको अवधिको १ वर्ष बराबर १ महीनाका दरले क्षतिपूर्ति दिएर हटाउने कानूनी प्रावधान छ । कामदारलाई एक महीनाअगावै यसको सूचना दिनुपर्छ ।

कोरिडोरका १ हजार उद्योगमा १ लाखभन्दा बढी कामदार कार्यरत रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्