काठमाडौं, भदौ २२ । महत्वपूर्ण मन्त्रालयहरू खाली रहेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन्। अर्थ, सञ्चार, सहरी विकासजस्ता मन्त्रालय मन्त्रीविहीन भएपछि ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक राखेर मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्। राष्ट्रियसभामा पार्टी उपाध्यक्ष वामदेव गौतमको मनोनयनसँगै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी रहेको स्रोतले जनाएको छ।
स्थायी कमिटीको बैठक बस्न ढिलाइ हुने भएपछि ओलीले सचिवालय बैठक राखेर वा दुई अध्यक्षबीच सल्लाह गरेर मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्।
कतिपय मन्त्रीले राम्रो काम गर्न नसकेको, आर्थिक अनियमिततामा संलग्न भएको भन्दै पार्टीभित्रैबाट सरकार आलोचित बनेको अवस्थामा प्रधानमन्त्रीले अहिले बहाल रहेका मन्त्रीहरू परिवर्तन नगरे पनि खाली रहेका मन्त्रालयमा नयाँ मन्त्री राखेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको स्रोतको दाबी छ।
सत्तारूढ पार्टी नेकपाको पछिल्लो स्थायी समिति बैठकमै पनि सदस्यहरूले कतिपय मन्त्रीका कारण सरकार र पार्टी बदनाम भएको भन्दै मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने आवाज उठाएका थिए। पार्टीको समस्या समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले पनि सरकारलाई प्रभावकारी बनाउन मन्त्रीहरु हेरफेर गर्न सुझाव दिएपछि प्रधानमन्त्री ओली मन्त्रिमण्डल पुनर्गठनको निष्कर्षमा पुगेका हुन्।
पार्टीभित्रको विवाद समाधान गर्न पुरानालाई नै मन्त्री बनाउनुपर्ने बाध्यता प्रधानमन्त्री ओलीलाई भए पनि सरकार सञ्चालनमा प्रभावकारी काम गर्न नसकेकोमा कतिपय मन्त्रीसँग उनको खटपट रहेको आजको नागरिक दैनिकमा खवर छ ।