Logo

सागर थापासहित खेलाडीले ‘खेल मिलेमतो गरेको’ तर ‘राज्यविप्लव नभएको’ सर्वोच्चको व्याख्या



काठमाडौं, २२ भाद्र । राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी सागर थापासहितका खेलाडीले खेल मिलेमतो गरेर मुलुकको हितविपरित काम गरेको ठहर भएपनि त्यो राज्यविप्लव नभएको सर्वोच्च अदालतले व्याख्या गरेको छ । थापासहितको म्याच फिक्सिङको मुद्दा फैसलाको पूर्ण पाठ सोमबार सार्वजनिक गर्दै सर्वोच्चले खेल मिलेमतो गरेको देखिएपनि अर्को कसुरको आरोप लगाइएको उल्लेख गरेको छ ।

खेलाडीहरुले सफाइ पाउनुमा उनीहरु निर्दोष भएको नभई एकथरी कसुर गरेको देखिए पनि पुष्टि नहुने अर्कोथरी आरोप लगाइएकोले कसुर कायम हुन नसक्ने व्याख्या छ । फैसलाको पूर्ण पाठमा राज्यविप्लवको आरोपमा जन्मकैदको मागदाबी भएको तर उक्त कानुन आकर्षित नहुने विशेष अदालतको फैसला मिलेको पूर्ण पाठमा भनिएको छ ।

फैसलाको पूर्ण पाठ अनुसार सागर थापालगायतले खेल मिलेमतो भने गरेको भनिएको छ । तर, उक्त अभियोगमा आकर्षित नहुने अर्को आरोपमा मागदाबी गरिनुले सफाई पाएको उल्लेख छ ।

राष्ट्रिय फुटबल टोलीका तत्कालिन कप्तान सागर थापासहित खेलाडीहरु सन्दीप राई, अञ्जन केसी, रितेश थापा, विकाससिंह क्षेत्री र फिजियो डेजिव थापामाथि खेल मिलेमतो गरी राज्यविरुद्धको अपराध गरेको आरोपमा कारबाहीको माग गर्दै मुद्दा दायर भएको थियो । उनीहरुलाई विशेष अदालतले सफाइ दिएको थियो । त्यसविरुद्ध फेरि सर्वोच्चमा पुगेको मुद्दामा उनीहरुले सफाइ पाएका थिए । तर, सफाइमा उनीहरु निर्दोष भने नभएको स्पष्ट व्याख्या छ । यसको अर्थ उनीहरुविरुद्ध अर्को मुद्दा दायर भएमा दोषी ठहर भई कारबाही हुन सक्ने सम्भावना बाँकी नै रहेको छ ।

सर्वोच्चको व्याख्यामा राष्ट्रको प्रतिनिधित्व गरेर विदेशमा खेल्न गएका खेलाडीहरुले रकम लेनदेन, त्यसको ट्रान्सफर भएको र बुझेको प्रमाणसमेत जनाइएकाले आपत्तीजनक र राष्ट्रिय लज्जाको विषय भनिएको छ । फैसलामा भनिएको छ, ‘केही खेलाडीले रकम बुझेको कुरा अदालतमा समेत गरेका छन् । सो राष्ट्रिय लज्जाको विषय हो ।’

सर्वोच्चको फैसलाको पूर्ण पाठको व्याख्या अनुसार खेलाडीहरुले रकम बुझेको समेत ठहर गरिएको छ । जुन महानगरीय प्रहरी अपराध महाशाखाले खेल हार्न रकम लिएको मागदाबीसहितको मुद्दा दायरलाई मानिएको छ । उनीहरुले प्रत्येक खेल हारेवापत प्रतिखेलाडी ५ हजार अमेरिकी डलरसम्म लिने गरेको बैंक स्टेन्टमेन्टमा देखिएको दायर मुद्दामा उल्लेख छ ।

उक्त विषयका सम्बन्धमा त्यतिबेला राज्यविरुद्धको अपराधको कानुन सक्रिय हुने अवस्था नभएको विशेष अदालतको फैसलामा भनिएको थियो । उनीहरु दोषी भएपनि सक्रिय नहुने कानुन अनुसार मुद्दा दायर भएकाले सफाई पाएको अदालतको व्याख्यामा भनिएको छ ।
राष्ट्रिय खेलाडीले खेल मिलेमतो गरेको अनुसन्धान हुँदा सर्वेन्द्र खनाल अपराध महाशाखालका एसएसपी थिए । उनले सप्रमाण खेल मिलेमतोको पर्दाफास गरेर चर्चा कमाएका थिए । मिलेमतो पुष्टि भएपनि राज्य विप्लवसम्बन्धी मुद्दा अगाडि बढाउनुले खेलाडीहरुले सफाई पाएको सर्वोच्चको व्याख्यामा भनिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot