काठमाडौं, २३ भाद्र । सोमबार विदेशबाट ७०३ जना नेपाल फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सोमबार १४ जना विदेशी र कुटनीतिज्ञसहित ७०३ जना नेपाल आएका हुन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज पाँच अन्तर्राष्ट्रिय उडानमार्फत स्वदेश फर्किएका हुन्। केन्द्रकाअनुसार साउदी अरवियाबाट १५४ जना, कतारबाट २२५ जना, मलेसियाबाट १४० जना , कतारबाट १४५ जना फर्किएका छन्। त्यसैगरी ५ कुटनीतिज्ञ, ५ पाकिस्थानी नागरिक र ४ जना सार्कसचिवालयका गरी २९ जना पाकिस्थानबाट नेपाल आएका छन्। मलेसियाबाट २ वटा शव ल्याइएको छ।
उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरमा लगेर आवश्यक सोधपुछ र परीक्षण पश्चात सम्बन्धित प्रदेशको क्वारेन्टाइनमा पठाउने तयारी भएको छ। लकडाउन भएदेखि आइतबारसम्म ५८, ०४६ जनाको नेपाल आएका समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।