Logo

व्यक्तिगत आवधिक कर्जाको ब्याजदर स्थिर राख्न निर्देशन, यस अघिको कर्जामा समेत स्थिर ब्याजदर कायम गर्नुपर्ने



नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जाको ब्याजदर स्थिर राख्न निर्देशन दिएको छ। केन्द्रिय बैंकले मंगलबार एकिकृत निर्देशिका २०७७ जारी गर्दै एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेको हो।

यसअघि कर्जा लिने समयमा सस्तो ब्याजदरमा कर्जा लगानी गरेपनि त्यसको केहि महिनामा नै ब्याजदर बढाउने गरेको गुनासो ऋणीहरुले गर्दै आएका थिए।

यस प्रयोजनको लागि, इजाजतपत्र प्राप्त संस्थाले एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर भुक्तानी अवधीभर परिवर्तन नहुने गरी स्थीर ब्याजदर निर्धारण गर्नुपर्ने केन्द्रिय बैंकले जनाएको छ। तर, ग्राहक स्वयंले इजाजतपत्र प्राप्त संस्थाको आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न यो व्यवस्थाले बाधा नपुर्याउने केन्द्रिय बैंकले जनाएको छ।

यो व्यवस्था व्यक्तिको नाममा प्रवाह भएका/हुने घर कर्जा, गाडी कर्जा, लगायतका मासीक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह गरिएका/हुने एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका कर्जामा लागू हुनेछ।

यसअघि मासिक/त्रैमासिक/आवधिक किस्तामा भुक्तानी हुने गरी व्यक्तिको नाममा प्रवाह भएका घर कर्जा, गाडी कर्जा, लगायतका आवधिक कर्जाको हकमा ग्राहकको अनुरोधमा स्थिर ब्याजदर कायम हुने गरी कर्जाका शर्तहरु परिवर्तन गर्नुपर्नेछ।

यो व्यवस्थाको अनुपालनाको लागि कर्जाका शर्त वा भुक्तानी तालिका वा किस्ता रकममा भएको परिवर्तनलाई पुनर्तालिकिकरण वा पुनर्संरचना नमानिने केन्द्रिय बैंकले जनाएको छ।

कर्जा अवधीभर परिवर्तन नहुने गरी नयाँ कर्जाको लागी तोकिने स्थिर ब्याजदर अर्धवार्षिक रुपमा मात्र निर्धारण तथा प्रकाशन गर्नुपर्ने केन्द्रिय बैंकले जनाएको छ।-मेरो लगानीबाट



प्रतिक्रिया दिनुहोस्