Logo

आवधिक ऋणको ब्याजदर बढाउन नपाइने



काठमाडौं, भदा २४ । घर तथा सवारी कर्जा जस्ता व्यक्तिगत आवधिक कर्जा लिने ऋणीहरू अब पटकपटक कर्जाको ब्याजदर बढ्ने चिन्ताबाट मुक्त भएका छन् ।

यसअघिसम्म बैंकले प्रत्येक ३ महीनामा आधारदर परिवर्तन गर्दा कर्जाको ब्याजदर पनि घटबढ हुने गरेको थियो । तर, अब बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर बीचमा बढाउन नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले मंगलवार एकीकृत निर्देशिका २०७७ जारी गर्दै १ वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरूको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ ।

अब बैंकहरूले १ वर्षभन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर बीचमा परिवर्तन गर्न पाउने छैनन् । तर, आधारदर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरको कर्जा लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

ऋणीले ऋण लिँदा नै स्थायी ब्याजदरमा ऋण लिने कि परिवर्तनीय ब्याजदरको ऋण लिने भनेर छनोट गर्न पाउने सुविधा दिइएको छ ।

‘यो व्यवस्था व्यक्तिको नाममा प्रवाह भएका÷हुने घर कर्जा, सवारी कर्जालगायत मासिक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह गरिएका १ वर्षभन्दा बढी भुक्तानी अवधि भएका कर्जामा लागू हुनेछ,’ संशोधित निर्देशिकामा उल्लेख छ ।

यो व्यवस्थाले अब बैंकहरूले यो निर्देशन जारी हुनुपूर्व मासिकरत्रयमासिकरआवधिक किस्तामा भुक्तानी हुने गरी व्यक्तिको नाममा प्रवाह गरेका घर कर्जा, गाडी कर्जालगायत आवधिक कर्जा स्थिर ब्याजदर कायम हुने गरी कर्जाका शर्तहरू परिवर्तन गर्नुपर्ने राष्ट्र बैंकले बताएको छ ।

उक्त व्यवस्थाको अनुपालनाका लागि कर्जाका शर्त वा भुक्तानी तालिका वा किस्ता रकममा भएको परिवर्तनलाई पुनर्तालिकीकरण वा पुनःसंरचना नमानिने राष्ट्र बैंकको भनाइ छ । बैंकहरूले स्थिर ब्याजदर अर्धवार्षिक रूपमा मात्र निर्धारण तथा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्