काठमाडौं, भदौ २४ । निषेधाज्ञाका बीचमा पनि निजीक्षेत्रलाई कर तिर्न ताकेता गरेको सरकारले बन्द बैंकका काउन्टर खुला गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलवारदेखि बिहीवारसम्म राजस्व संकलन गर्ने सबै शाखा तथा काउन्टरहरू खोल्न निर्देशन दिएको थियो ।
केन्द्रीय बैंकको उक्त निर्देशनसँगै मंगलवार काठमाडौं उपत्यकासहित देशभर बैंकका शाखा कार्यालय तथा काउन्टर खुलेका छन् ।
राष्ट्र बैंकका अनुसार अहिलेसम्म बैंकहरूले सीमित शाखा कार्यालय मात्रै खोलेर सेवा दिइरहे पनि कर तिर्न सहज गर्ने हिसाबले अन्तिम दिन सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिइएको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले कर तिर्ने समय बिहीवारसम्म मात्रै भएका कारण बैंकमा धेरै भीडभाड नहोस् भनेर सहज गरिएको बताए । उनका अनुसार तीन दिनसम्म काउन्टरहरू सहज रूपमा खुल्नेछन् ।
काउन्टर खुले पनि मंगलवार पहिलो दिन चहलपहल भने खासै नदेखिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।