काठमाडौं, २४ भदौ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता केशब बडालले उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा मनोनित भएपनि संविधानतः मन्त्री बन्न नसक्ने ठोकुवा गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पार्टीभित्रको आन्तरिक विवाद हल गर्नको लागि उपाध्यक्ष गौतमले ६ बुँदे प्रस्ताव अघि सारेर पार्टी एकताको पक्षमा योगदान गरेको भन्दै उनले धन्यवादसमेत दिए ।
उनले भने,‘वामदेव कमरेडले पार्टीको हितको निम्ति जुन ६ बुँदे ल्याउनुभयो । मैले यही कार्यक्रममार्फत धन्यवाद दिएको छु । अहिले राष्ट्रियसभामा जान खोज्नुभएको छ। त्यो विषय सचिवालय, स्थाायी र केन्द्रिय कमिटीमा विषय बन्दैन । त्यो विषय सरकारले गर्ने विषय हो । उहाँलाई राष्ट्रियसभामा मनोनित गर्न प्रधानमन्त्रीले प्रस्ताव राख्नुभएछ । म उहाँको उदारताप्रति धन्यवाद दिन चाहन्छु । निर्वाचनमा पराजय भएपछि धैर्यता राखेको भए हुन्थ्यो ।’ उनले संविधानतः वामदेव अढाई वर्षभित्र मन्त्री बन्न नमिल्ने पनि स्पष्ट पारे । उनले भने,‘संविधानले मिल्दैन् । संविधानको स्पिरिटअनुसार वर्तमान संविधानले मिलेको छैन् ।