Logo

ट्रम्पले राष्ट्रपति चुनाव जित्न यसरी पल्टाउँदैछन् पासा



अमेरिकी राष्ट्रपति चुनाव आउन दुई महिनाभन्दा कम समय बाँकी छ । ३ नोभेम्बरका लागि तय भएको चुनावको मिति कोरोना भाइरसको महामारीले पनि नरोकिने निश्चित छ । डोनाल्ड ट्रम्पले यसै पनि अमेरिका सधै सक्रिय हुने देश भएको भन्दै कोरोनालाई पनि बेवास्ता गर्ने गरेका छन् । उनले बल्लतल्ल मास्क लगाए ।

ट्रम्प यतिबेला निकै आलोचित छन् । उनको विवादास्पद कदम र अभिव्यक्तिले साख गिरेको छ । डेमोक्रयाट्स उम्मेदवार जो बिडेनभन्दा कमजोर अवस्थामा रहेको विश्लेषण र चुनावी प्रक्षेपणहरुले देखाइरहेको छ । तैपनि उनी हरेस खाएका छैनन् । ट्रम्पले एकसाथ बाजी मार्ने रणनीति तयार गरेका छन् । यसले उनलाई चुनावमा सफलता हासिल गराउन सक्छ ।

पहिलो विषय ट्रम्प चुनाव अघि नै कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन चाहन्छन् । त्यसको संकेत गरिसकेका छन् । उनले केही हप्ताभित्रै महत्वपूर्ण परिणाम आउने बताएका छन् । अमेरिकामा मोर्डना, फाइजर र जोन्सन एन्ड जोन्सन कम्पनिको भ्याक्सिन विकास भइरहेको छ । जसमध्ये मोर्डना भ्याक्सिन अन्तिम चरणको परीक्षणमा रहेको छ । ट्रम्पले यसैलाई देखाइरहेका छन् ।

कोरोनाविरुद्धको भ्याक्सिन घोषणा भएलगत्तै ट्रम्प फेरि लोकप्रीय हुनसक्नेछन् । उनले यसलाई चुनाव जित्ने एउटा बलियो आधार देखेका छन् । तर, हतारमा भ्याक्सिनको घोषणा गरेर चुनावमा बलियो बन्ने ट्रम्पको रणनीति रहेको भन्दै टाइम म्यागाजिनले एउटा विश्लेषणात्मक रिपोर्ट सार्वजनिक गरेको छ । वैज्ञानिक र मेडिकल रिसर्चरहरुले ट्रम्प प्रशासनलाई २०२० भित्र भ्याक्सिन तयार नहुने बताइरहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

ट्रम्प भने २०२० भित्र मात्र नभई अक्टोबर महिनाभित्रै भ्याक्सिन विकास भइसक्ने बताइरहेका छन् । उनले सोमबार भ्याक्सिन अक्टोबरमा विकास भइसक्ने बताए । चुनाव ३ नोभेम्बरमा हुने र भ्याक्सिन अक्टोबरमा विकास गरेर घोषणा गर्ने ट्रम्पको रणनीति पनि हुनसक्छ । यसले उनको पक्षमा महोल तयार गर्न सक्छ ।

यसैगरी, ट्रम्प नोबल पुरस्कारको दाबेदार पनि बनेका छन् । उनको नाम २०२१ को नोबेल शान्ति पुरस्कारको दाबेदारको सुचीमा परेको छ । फक्सन्युजका अनुसार ट्रम्प नोबल शान्ति पुरस्कारको मनोनयन सुचीमा परेका छन् । उनले इजरायल र संयुक्त अरब इमिरेट्सबीच शान्ति सम्झौतामा मध्यस्थताको भुमिका निभाएर उक्त सुचीमा परेका हुन् । यसपटक ट्रम्प नोबेल पुरस्कारको दाबेदारमध्ये सशक्त उम्मेदवार भएका छन् । यसले पनि उनलाई लोकप्रीय बनाउँदैछ ।

ट्रम्प अभिव्यक्तिले विवादमा आएपनि उनको कदम धेरै अमेरिकीका लागि लाभदायक बनेको छ । कोभिड १९ ले रोजगारी गुमाएका अमेरिकीका लागि उनले विशेष राहत प्याकेज ल्याए । संकटको घडीमा पनि अमेरिकालाई चलायमान बनाए । यसले पनि उनलाई जोखिमको सामना गर्ने र व्यवस्थापकीय क्षमता भएको राष्ट्रपतिको रुपमा चिनायो । बाह्य सँसारका लागि ट्रम्प आलोचित छन् । उदारवादी अमेरिकीहरुले ट्रम्पलाई मन पराउँदैनन् । तर, अझै अधिकांश अमेरिकी उनैलाई चाहिरहेको देखिन्छ । यसकारण पनि उनी चुनावमा दोस्रो कार्यकाल जित्ने सम्भावनाका साथ बढेका छन् । उनीसँग रणनीतिक चार्तुयता छ जसले उनलाई ढुक्क बनाएको छ ।- एजेन्सीको सहयोगमा Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot